नेदरल्यान्ड्सलाई पाकिस्तानको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं, १९ असोज । भारतमा बिहिबारदेखि सुरु भएको एकदिवसीय विश्वकपको दोस्रो खेलमा अहिले पाकिस्तान र नेदरल्यान्ड्स खेलिरहेका छन् । जारी खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई २८७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा सबै विकेट गुमाएर २८६ रन बनायो । उसका लागि मोहम्मद रिजवान र सौद सकीलले समान ६८ रन बनाए । सुरुवाती पावरप्लेमै ३ विकेट गुमाएको पाकिस्तानका लागि यी दुई मिलेर १२० रनको साझेदारी गरेका थिए ।
मोहम्मद नवाजले ३९ तथा शादाब खानले ३२ रन बनाए । नेदरल्यान्ड्सका बास दे लिडेले ९ ओभरमा ६२ रन खर्चेर ४ विकेट लिए । त्यस्तै कोलिन एकरमेनले २ विकेट लिँदा आर्यन दत्त, लोगान भान बिक र पल भान मिकेरेनले १ १ विकेट हात पारे ।

