महङ्गीका विषयमा संसदमा एमाले सांसद रघुजीले सुनाए कविता

काठमाडौं, १९ असोज । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधि सभाको बैठकमा कविता सुनाएका छन् । शुक्रबार शून्य समयमा बोल्दै उनले महंगीका सम्बन्धमा कविता सुनाएका हुन् ।
दशैं नजिकिएका बेला महँगी पनि बढ्दै गएको र महङ्गीले गर्दा किनमेल गर्नै नसकिने आसयको कविता सुनाउँदै उनले जनताको दशैं कसरी टर्छ भनेर सरकारको जवाफ समेत मागेका छन् ।
यस्तो छ उनले सुनाएको कविता:
खल्तीमा तलब हालेर हिँड्यो बजार
चामलको बोराले नाघ्यो तीन हजार
रहर दाल किलोको २५०
बजार भाउ सुन्दा गुम्छ होस हवास
तरकारीले भाउ नै नसोध भने झैँ गर्छ
गोलभेँडाले के किन्लास् तैँले भनेर आँखा तर्छ
दशैं पेस्की आउने कहिले कहिले, पेस्कीमा महंगी आयो
सरकारका घर त उज्याला होलान्, नहुनेको घरमा अहिले नै अँध्यारो छायो
आउन लागेको दशैं सम्झेर जनता मुर्छा पर्छ
सरकार गरिबको दशैं यसपाली कसरी टर्छ ?
मेरो प्रश्न छ– जवाफ देउ सरकार, जनताको दशैं यसपाली कसरी टर्छ ?

