एसियाड क्रिकेट: बङ्गलादेशमाथि सहज जीत निकाल्दै भारत फाइनलमा

काठमाडौं, १९ असोज । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गतको क्रिकेटमा भारच फाइनलमा प्रवेश गरेको छ । शुक्रबार विहान भएको सेमिफाइनलमा बङ्गलादेशलाई हराउँदै भारतले कम्तिमा रजत पदक पक्का गर्‍यो ।

भारतले बङ्गलादेशलाई ९ विकेटले हराएको हो । बङ्गलादेशले दिएको ९७ रनको सामान्य लक्ष्य भारतले ९.२ ओभरमा एक विकेट मात्र गुमाएर पूरा गर्यो । नेपालसँग शतक प्रहार गरेका यशश्‍वी जैसवाल भने आज शून्यमै आउट भए ।

भारतका लागि तिलक वर्माले आक्रामक ब्याटिङ गर्दै २६ बलमा ५५ रन बनाएर अविजित रहे । उनले २ चौका र ४ छक्का प्रहार गरे ।  त्यस्तै कप्तान ऋतुराज गायक्‍वाड २४ बलमा ३५ रन बनाएर अविजित रहे । बङ्गलादेशका रिपन मन्डलले १ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९६ रन बनाएको थियो ।  बङ्गलादेशका लागि जाकेर अलीले २४ तथा परवेज हुसेनले २३ रन बनाए । भारतका साई किशोरले ३ विकेट लिँदा वासिङटन सुन्दरले २ तथा अर्शदीप सिंह, तिलक वर्मा, रवि विश्‍नोई र शाहबाज अहमदले १-१ विकेट लिए ।

भारतले अब स्‍वर्णका लागि पाकिस्तान र अफगानिस्तानबीचको विजेतासँग खेल्ने छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय