कनवे र रविन्द्रको अविजित शतकमा न्युजिल्यान्डको शानदार जीत

काठमाडौं, १८ असोज । भारतमा बिहिबारदेखि सुरु भएको एकदिवसीय विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डले शानदार जीत निकालेको छ । न्युजिल्यान्डले इंग्ल्यान्डलाई ९ विकेटले हराएको हो ।
इंग्ल्यान्डले दिएको २८३ रनको लक्ष्य न्युजिल्यान्डले ३६.२ ओभरमा मात्र एक विकेटको क्षतिमा भेट्टायो । न्युजिल्यान्डका डेभन कनवे र रचिन रविन्द्रले शतकीय पारी खेले । कनवे १५२ रनमा तथा रविन्द्र रनमा १२३ अविजित रहे । इंग्ल्यान्डका लागि एकमात्र विकेट साम करानले लिए । कनवे र रविन्द्र मिलेर दोस्रो विकेटका लागि २७३ रनको साझेदारी गरेका थिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८२ रन बनायो । उसका लागिन जो रुटले सर्वाधिक ७७ रन बनाए भने कप्तान जस बट्लरले ४३ रन बनाए । त्यस्तै जोनी बेयरस्टोले ३३ रन बनाए ।
न्युजिल्यान्डका म्याट हेनरीले १० ओभरमा ४८ रन दिएर ३ विकेट लिए भने मिचेल सान्टनर र ग्लेन फिलिप्सले २-२ विकेट लिँदा ट्रेन्ट बोल्ट र रचिन रविन्द्रले १-१ विकेट लिए ।
योसँगै न्युजिल्यान्डले अघिल्लो विश्वकपको फाइनलमा व्यहोरेको नमीठो हारको बदला लिएको छ । सन् २०१९ को विश्वकपको फाइनलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई हराउँदै पहिलोपटक उपाधि जितेको थियो ।

