बाबुरामको पार्टी फेरि फुट्दै !
(केन्द्रिय समितिको बिज्ञप्ति सहित)

काठमाडौ,१८असोज।पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी फुटको संघारमा पुगेको छ।
पार्टीका अर्का अध्यक्ष एवं बर्तमान सरकारका खानेपानी मन्त्री महेन्द्र राय यादव सहितका केही नेता बिनासर्त नेकपा (माओवादी केन्द्र) प्रवेश गर्ने तयारीमा पुगेपछि पार्टी फुटको अवस्था आएको हो। यद्यपि यसलाई नेसपा नेतृत्वले ढाकछोप गर्न खोज्दै छ।
नेसपाको असोज १५-१७ असोजमा काठमाडौमा सम्पन्न केन्द्रीय कार्यकारिणी समिति बैठकमा समेत माओवादीसंग पार्टी एकताको कुरा उठेको थियो। तर, यादव पक्षले पार्टी एकता वा प्रवेश नै गर्ने भनेपनी बाबुराम पक्षले तत्काल एकता नगर्ने निर्णय बैठकबाटै गराएको छ।
बैठकका महत्वपूर्ण निर्णय र पारित प्रस्ताबहरू ! भन्दै बाबुरामले बिहिवार बक्तब्य जारी गरेका छन् । त्यसमा अर्का अध्यक्ष महेन्द्र राय यादवको हस्ताक्षर छैन।
बाबुराम भारत भ्रमणमा रहेका बेला नेकपा माओवादी केन्द्रले महेन्द्र राय यादवलाई पार्टी अध्यक्षको हैसियतमा एकल सम्बोधन गर्दै पार्टी एकताको प्रस्ताव गरेको थियो। जुन कुरामा बाबुराम र उनको पक्षमा रहेका नेताको असहमति थियो। बाबुरामले बिहिवार जारी गरेको बक्तब्यमा पनि माओवादी पक्षले नेसपाले राखेका ९ बुँदे प्रस्तावलाई छलफलमै नलगेको र त्यो बिषयमा कुरा नमिली एकता नहुने स्पस्ट गरेको छ।
२०७२को संविधान जारी भएपछि माओवादी छाडेका बाबुरामले त्यसपछि नयाँ शक्ति पार्टी गठन गरेका थिए। तर,नयाँ शक्तिमा रहेका धेरै नेता माओवादी र अन्य पार्टीमा फर्केपछि बाबुरामले उपेन्द्र यादवसंग पार्टी एकता गरेका थिए। पछि उपेन्द्र यादवसंग पनि मत नमिलेको भन्दै बाबुरामले महेन्द्र राय यादव समेतको सहयोगमा नेसपा गठन गरेका थिए।


