मनसुन ढिला बाहिरिने, केही दिन वर्षाको सम्भावना

काठमाडौं, १३ असोज । नेपालबाट मनसुन औसत मितिभन्दा ढिला बाहिरिने भएको छ । मनसुन बाहिरिने औसत मिति अक्टुर २ तारिख भए पनि यस वर्ष त्योभन्दा पनि ढिलो मनुसन बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी केही दिन देशका धेरै स्थानमा बदली भई वर्षाको सम्भावना समेत रहेको छ । हाल बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकास भैरहेको न्यून चापीय क्षेत्र उत्तर-पश्चिम दिशा तर्फ सर्ने सम्भावना देखिएकोले आगामी ३/४ दिनसम्म देशका धेरै स्थानहरुमा आंशिक देखि सामान्य बदली भई केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी राती कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

काठमाडौं उपत्यकामा बिहानपख जाडो महसुस हुन थालिसकेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय