प्रधानमन्त्री प्रचण्ड आज ल्हासाबाट छेन्दु जाँदै

काठमाडौं, १२ असोज । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ल्हासाबाट छेन्दु जाँदै छन् । छेन्दुबाट उनी शनिबार स्वदेश फर्किनेछन् ।

प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जानेछन् । उनी स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र त्यसपछि ल्हासा विमानस्थलबाट छेन्दु पुग्ने कार्यक्रम छ । उनी स्थानीय समयअनुसार अपराह्न १४ः३० बजे छेन्दु पुग्ने राष्ट्रिय समाचार समिति (रासस)ले जनाएको छ ।

छेन्दुमा रहँदा प्रधानमन्त्री प्रचण्डले पाण्डा प्रजनन केन्द्र निरीक्षण गर्ने कार्यक्रम छ । त्यसपछि उनले साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने र आजै साँझ प्रधानमन्त्री प्रचण्डको सम्मानमा सचिव सियाओले रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड बुधबार चीनको छोङछिङबाट ल्हासा पुगेका थिए । उनले बिहीबार कैलाश मानसरोवर भ्रमण गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय