
डा.भट्टराईको प्रश्न- प्रधानमन्त्रीको चीन भ्रमण कति उपलब्धीपूर्ण ?
काठमाडौं, १२ असोज । पुर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमण बारे केही प्रश्न उठाएका छन् ।


प्रमको चीन भ्रमण कति उपलब्धिपुर्ण ? भन्दै डा.भट्टराईले लेखेका छन्-‘प्रधानमन्त्रीको चीन भ्रमण आफैले अपेक्षा गरेभन्दा राम्रो भएको दाबी गरिए पनि देशको आवश्यकता र सम्भावनाको कसीमा कति परिणाममुखी रह्यो भन्ने कुरा प्रमुख हो।’

नेपाल यतिवेला आन्तरिक रूपमा तीब्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा छ। यस्तो वेला दूरदर्शी नेतृत्वले संकटलाई अवसरमा बदल्ने प्रयत्न गर्ने हो, न कि सतही अतिथिसत्कार र आफ्नै आसेपासेहरूको प्रशंसामा रमाएर बस्ने !
नेपाल राज्यले इतिहासदेखि नै उत्तर र दक्षिंणका दुइ ठूला छिमेकीसंग छुट्टाछुट्टै रूपमा आफनो राष्ट्रिय हित अनुकुल सम्बन्ध राखेर लाभ लिंदै आइरहेको छ। अहिले २१ औं शताब्दिमा चीन विश्वकै पहिलो अर्थतन्त्र र महाशक्ति बन्ने दिशातिर गइरहेको वेला हामीले उसंगको निकट सम्बन्ध मार्फत मुख्य रूपमा तीब्र आर्थिक रूपान्तरणको महत्वपूर्ण सम्भावना/अवसरको सदुपयोग गर्नुपर्ने हो। त्यसनिम्ति उसले अघि सारेको बिआर्आइ र जिडिआइलाई कसरी हाम्रो दीर्घकालीन राष्ट्रिय हितमा प्रयोग गर्ने भन्नेमा प्रमको भ्रमण केन्द्रित हुनुपर्थ्यो! कमसेकम परम्परागत हिमाली पर्खाललाई छेडेर दुइ देशको अर्थतन्त्रलाई जोड्ने आधुनिक यातायात/पारबहन पूर्वाधार छिटो निर्माण गर्न प्राथमिकता दिनुपर्थ्यो!तीर्थाटन त हुॅदै गर्थ्यो!
सबैले लेखेर राखौं,सयौं बर्षदेखि अविकास/अल्पविकासको दुष्चक्रमा फस्दै आएको नेपालको तीब्र गतिको आर्थिक रूपान्तरण (“दुइ अंकको आर्थिक वृद्धिदर,दुइ दशक निरन्तर”)को लक्ष्य दुइ ठूला छिमेकी अर्थतन्त्रको मूल्यशृंखलासंग तालमेल मिलाएर अघि नबढी सम्भवै छैन! इतिहासले मलाई गलत साबित गरेमा खुशी हुनेछु!
Comments

