हुम्लाको बाटो भएर मानसरोवर सजिलै पुग्‍ने व्यवस्था मिलाइनेछ: प्रचण्ड

काठमाडौं, ११ असोज । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको हुम्लाको बाटो भएर हिन्दूहरुको पवित्र तिर्थस्थल कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताएका छन् ।

बिहिबार कैलाश पर्वत र मानसरोबर ताल क्षेत्रको स्थलगत अवलोकन गरी उनले नेपाली भारतीय र अन्य देशका पर्यटकहरुले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्दान्तिक सहमति भैसकेको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले सिमकोटबाट कैलाश पर्वततर्फ ओहोर दोहोर गर्न गुणस्तरीय बाटो निर्माणको काम छिट्टै अघि बढ्ने जानकारी दिए ।

चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोबर करिब २ सय ५० किलोमिटर टाढा रहको छ भने नेपालको हुम्लाबाट यात्रा गर्दा हुम्ला सदरमुकाम सिमकोटबाट १ सय ६० किलोमिटर र नेपाल चीन सीमानाबाट भने ७० किलोमिटर टाढा रहेको छ ।

सिमकोटबाट कैलाश मानसरोवर जान अहिले सडक संजाल जोडिएको भएपनि सडकको ट्रयाकमात्रै खोलिएकाले यात्रा गर्न असहज रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो सडकको गुणस्तर बृद्दि गर्ने काम छिट्टै अघि बढाइने जानकारी दिएका छन् ।

कैलाश पर्वतबाट केही तल तिब्बती भागमै मानसरोवर ताल रहेको छ । मानसरोवर ताल पनि हिन्दूहरुका लागि पवित्र तिर्थस्थल हो । कैलाश पर्वतमा बस्ने महादेबले यही मानसरोवर तालमा स्नान गर्ने गर्दछन भन्ने हिन्दू धर्मावलम्बीहरुको जनविश्वास रहेको छ ।

चीन भ्रमण सकेर प्रचण्ड शनिबार स्वदेश फर्कने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय