
भारतसँग टाइब्रेकरमा स्तब्ध हुँदै नेपाल साफ यु-१९ बाट बाहिरियो
काठमाडौं, १० असोज । नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाट बाहिरिएको छ । बुधबार भएको खेलमा भारतसँग टाइब्रेकरमा पराजित भएसँगै नेपालको यात्रा सकिएको हो ।


दशरथ रंगशालामा भएको सेमिफाइनलमा भारतले नेपाललाई टाइब्रेकरमा ३-२ ले पराजित गरेको हो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा भारतका अर्जुन सिंह, गगमसार गोरी र मङ्लेथान किपगेनले गोल गर्दा दिनेश सिंह र रिकी मितेइले पेनाल्टी मिस गरे । नेपालका अस्विन घोरासैनी र नेल्सन तामाङले गोल गर्दा प्रशान्त लक्षम, लछु थापा र विक्रम थापाले पेनाल्टी मिस गरे ।
त्यसअघि भारतले पहिलो हाफको २६ औं मिनेटमा शाहील खुर्सीदको गोलमार्फत अग्रता बनाएको थियो । पहिलो हाफमा आक्रामक खेलेको भारतले थप गोल भने गरेन र पहिलो हाफमा भारत १ ० ले अगाडि रह्यो ।
दोस्रो हाफको सुरुवातमै नेपालले बराबरी गर्ने अवसर खेर फाल्यो । निराजन धामीले गोलरक्षक बिट गरिसकेको अवस्थामा पोस्टको नजिकैबाट बल बाहिरियो । ७४औं मिनेटमा नेपालका समिर तामाङले गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो यद्यपि त्यसपछि कुनै गोल नहुँदा खेल टाइब्रेकरमा धकेलियो ।
भारतले अब उपाधिका लागि शनिबार पाकिस्तानसँग खेल्ने छ । पाकिस्तानले भुटानलाई सडेन डेथमा हराउँदै फाइनलमा स्थान बनाएको हो ।
Comments

