क्यानको सचिवमा निर्वाचित भएपछि के भन्छन् पारस ?
प्रतिक भट्ट
काठमाडौं, ७ असोज । नेपाल क्रिकेट संघ (क्यान)काे सचिवमा निर्वाचित भएपछि पारस खड्काले घरेलु क्रिकेटको संरचना विकास गर्नु आफ्नो पहिलो प्राथमिकताको विषय रहेको बताएका छन् ।
शनिबार सम्पन्न क्यानको निर्वाचनबाट सचिवमा निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै पारसले नेपाली क्रिकेटमा जोडिएका राम्रा, नराम्रा पक्षलाई एक ठाउँमा ल्याएर नेपाली क्रिकेटलाई संस्थागत रूपमा अझ अघि बढाउन आवश्यक रहेको ।
जिल्ला र प्रदेश स्तरको क्रिकेट संरचनालाई पनि बलियो बनाएर लैजाने बताउँदै उनले भौतिक संरचनामा सरकार र राष्ट्रिय खेलकुद परिषद्ले विशेष भूमिका खेल्न आवश्यक रहेको बताए ।
उनले भने, ‘साँच्चिकै नेपाली क्रिकेटलाई विकास गर्न चाहन्छौं भने आफ्नो जिल्ला र प्रदेशलाई बलियो बनाउनतर्फ लाग्नुपर्छ । केन्द्रमा राम्रो टिमलाई जिल्ला र प्रदेशले राम्रो सहयोग गर्न सक्छ भने नेपाली क्रिकेटको त्यो नयाँ सुरुवात हुनेछ ।’
‘अहिलेको हाम्रो प्राथमिकता ग्रासरुट क्रिकेट नै हो । ग्रास रुट बलियो बनाउन पहिला राम्रो प्रतियोगिता आयोजना गर्ने । त्यसपछि हामी डे क्रिकेट आयोजना गरेर जिल्ला स्कुल र कलेज क्रिकेट गर्न सक्यौ भने तथा जिल्ला र प्रदेशबीच एकअर्काबीच क्रिकेट वातावरण बनाउन सक्यौ भने अर्को स्तरमा पुग्न धेरै खेलाडी आउन सक्छन्’, पारसले भने ।
शनिबार सम्पन्न क्यानको निर्वाचनमा प्रशान्त विक्रम मल्ललाई हराउँदै पारस सचिवमा निर्वाचित भएका थिए । पारसले ४८ मत ल्याउँदा मल्लले ३७ मत ल्याएका थिए ।
अध्यक्षमा भने चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भए ।

