संकटमा माधव नेपाल !
जिम्मेवारी हेरफेर नसच्चिए झलनाथ समेत ५० जनाले पार्टी छाड्ने
काठमाडौ,४असोज।एक बर्ष अघि नेकपा एमालेबाट बिद्रोह गरेर गठन भएको नेकपा (एकीकृत समाजवादी) विघटनको गम्भीर मोडमा पुगेको छ।
पार्टी केन्द्रिय समितिको पछिल्लो बैठक र नेताहरुको जिम्मेवारी बाँडफाँडको असन्तुष्टि सतहमा आएको छ भने सम्मानित नेता झलनाथ खनाल सहित केही पदाधिकारी र केन्द्रिय सदस्य नेतृत्व प्रति क्रुद्ध बनेका छन् ।
पार्टीभित्र तीव्र विवाद चुलिदै गएपछि नेताहरू बिच घोचपेच समेत सुरु भएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले पछिल्लो निर्णय फिर्ता नगरे पार्टी भित्रै गम्भीर संकट आउने चेतावनी केही पदाधिकारीले नै दिएका छन्। उनीहरुले एमालेसँग एकता गर्न सकिने तर माओवादी पार्टीको पुच्छर नबन्ने समेत भनेका छन् ।
गएको भदौ ५-७ गतेसम्म बसेको केन्द्रीय समितिको निर्णय अनुसार भदौ २८ गते अन्तरपार्टी निर्देशन जारी गर्दै एकीकृत समाजवादीले नेताहरुको कार्यविभाजनमा व्यापक फेरबदल गरेको थियो। जसमा सम्मानित नेता खनाल सहित उपाध्यक्ष घनेन्द्र बस्नेत, सचिव राजेन्द्र राई र रामकुमारी झाँक्री लगायत दर्जनौं नेताको बिरोध छ।
कोशी प्रदेशको पुर्व मुख्यमन्त्री समेत रहेका सचीव राई कोशीमा एमालेसँग मिलेर सरकारमा आलोपालो गर्ने सुरसारमा छन् । उनले पुर्व मुख्यमन्त्री एवं एमाले नेता शेरधन राईलाई एक्लै भेटेर यसको तयारी गरेको बुझिएको छ।
अध्यक्ष नेपालकै कार्यशैलीको बिरोध गर्दै पार्टीका मुख्य मध्यका नेता मुकुन्द न्यौपाने सहित पोलिट्ब्युरो र केन्द्रिय सदस्य गरि १८ जना एमालेमा फर्किसकेका छन् । अझै धेरै नेता एमाले फर्किने तयारीमा रहेको स्रोत बताउँछ । अझै रोचक कुरा त इलाम-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधनप्रति श्रद्धाञ्जली दिन पुगेका नेता झलनाथ खनालले एमाले सहितको एकता भनेर अभिव्यक्ति दिएपछि अर्को झड्का लागेको छ।
एमाले स्रोतका अनुसार इलाम २ मा हुने उपचुनावमा उम्मेदवार बनाउने ग्यारेन्टी गरिए खनाल एमाले फर्किने तयारीमा छन् । खनाल फर्किएको अवस्थामा ७० प्रतिशत पार्टी नेताकार्यकर्ता एमाले फर्किन सक्ने भनिएको छ।

