पाकिस्तानमाथि रोमाञ्चक जीत निकाल्दै श्रीलंका फाइनलमा

काठमाडौं, २९ भदौ । घरेलु टोली एवम् साविक विजेता श्रीलंका एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहिबार राति सम्पन्न सुपर फोरको खेलमा पाकिस्तानमाथि रोमाञ्चक जीत निकाल्दै श्रीलंका फाइनलमा पुगेको हो ।
वर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा २५२ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ४२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । श्रीलंकाको जितमा कुशल मेन्डिसले सर्वाधिक ९१ रनको योगदान दिए । त्यसैगरी चरिथ असलन्का ४९ रनमा अविजित रहे ।
श्रीलंकालाई अन्तिम दुई बलमा जितको लागि ६ रन चाहिँदा जमान खानलाई चरिथ असंलकाले चौका र दुई रन प्रहार गर्दै जीत दिलाए । पाकिस्तानका इफ्तिखर अहमदले ३ विकेट लिँदा शाहीन अफ्रिदीले २ र शादाब खानले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाउँदै २ सय ५२ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद रिजवानले अविजित रहँदै सर्वाधिक ८६ रन बनाएका थिए । अब्दुल्लाह शफिकले ५२ रन बनाए ।
छैटौं विकेटका लागि इफ्तिखर अहमद र मोहम्मद रिजवानले १०८ रनको महत्वपूर्ण शतकीय साझेदारी गरेका थिए । इफ्तिखारले ४७ रन बनाए । श्रीलंकाका मथिसा पाथिरानाले ३ विकेट लिए । प्रमोद मदुशानले २ तथा दुनिथ वेलालागे र महेश थिक्सेनाले समान १ विकेट लिए ।
भारत एक खेलअगावै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । फाइनल खेल आइतबार हुनेछ । त्यसअघि भारत र बङ्गलादेश आज सुपर फोरको अन्तिम खेल खेल्दै छन् ।

