भारत एक खेल अगावै एसिया कपको फाइनलमा

काठमाडौं, २७ भदौ । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मङ्गलबार भएको सुपर फोरको खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारत एक खेल अगावै फाइनल पुगेको हो ।
भारतले दिएको २१४ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमा १७२ रनमा अलआउट भयो । दुनिथ वेलालगेले अविजित ४२ तथा धनन्जय डासिल्भाले ४१ रन बनाए । भारतका कुलदीप यादवले ४ विकेट लिए भने रविन्द्र जडेजा र जसप्रीत बुमराहले २-२ तथा हार्दिक पान्ड्या र मोहम्मद सिराजले १ १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९.१ ओभरमा अलआउट हुँदै २१३ रन बनाएको थियो । कप्तान रोहित शर्माले ५३ रन बनाए भने केएल राहुलले ३९, इशन किसनले ३३ र अक्षर पटेलले २६ रन बनाए ।
श्रीलंकाका लागि दुनिथ वेलालगेले १० ओभरमा ४० रन खर्चिएर ५ विकेट लिएका थिए । उनले रोहित शर्मा, शुभमन गिल, विराट कोहली, केएल राहुल र हार्दिक पान्ड्यालाई पेभेलियन फर्काएका थिए । त्यस्तै चरिथ असलन्काले ४ र मथिसा पथिरानाले १ विकेट लिएका थिए ।
भारत लगातार दुई खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ । अब भारतले बंगलादेशसँग खेल्न बाँकी छ । श्रीलंका र पाकिस्तान बीचको विजेता टोली फाइनलमा पुग्ने छ ।

