बिपीबारे बाबुराम भन्छन्: ‘गतिशील र दूरगामी नेता’

काठमाडौ, २५ भदौ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बिपी कोइराला गतिशील र दूरगामी नेता भएको बताएका छन् ।

बिपीको ११० औँ जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेसले बिपी नगर सानेपामा गरेको अन्तरक्रियामा उनले सो कुरा बताएका हुन् । डा. भट्टराईले बिपी कोइरालाको प्रधानमन्त्री कालमा लिएको परराष्ट्रसम्बन्धी नीति असाध्यै दूरगामी भएको पनि स्मरण गरे ।

‘उहाँ प्रधानमन्त्री भएपछि भारत, चीनसँग लगायत छिमेकी राष्ट्र र शत्तिराष्ट्रसँग जुन सम्बन्ध राख्नुभयो त्यो असाध्यै दूरगामी महत्वको छ । सीमा समस्या उहाँकै पालामा हल भयो । सगरमाथाको विवाद उहाँले नै हल गर्नुभयो । त्यतिबेला सबैभन्दा ठूलो शीतयुद्ध मडारिँदै थियो । त्यस्तै इजराइलसँग सम्बन्ध राख्ने कसैले पनि आँट गर्न नसक्ने अवस्थामा उहाँले सम्बन्ध विस्तार गर्नुभयो, त्यसकारण बिपीको अन्तर्राष्ट्रिय नीति सही थियो’, उनले भने ।

सो अवसरमा डा.भट्टराईले बिपीको प्रधानमन्त्री काल र जेल जीवन, निर्वासन कालसम्म आफू प्रभावित भएपनि ०३३ पछि राजासँग मिल्नेगरी राष्ट्रिय मेलमिलापको नीति लिएपछि उनको विचारसँग सहमत हुन नसकेको पनि बताए ।

यसैगरी बाबुरामले जीवनको अन्तिम अवस्थासम्म पनि बिपी कोइराला कम्युनिस्ट विचारधाराबाट प्रभावित भएको जिकिर समेत गरे। तत्कालीन समयमा भारतीय पत्रकार तिर्थाङर मुखर्जीले बिपीसँग लिएको अन्तर्वार्ता पढ्न भट्टराईले कांग्रेसका नेता, कार्यकर्ता र पारिवारिक सदस्यहरूलाई आग्रह पनि गरे ।

बिपी नेपाली राजनीतिको बहुआयमिक, श्रब्यद्रष्ट, निरन्तर गतिशील र आफूलाई निरन्तर नवीकरण गरिराख्ने व्यक्तित्व भएको भन्दै उनले अन्तिममा बिपीले कम्युनिस्ट किन छोडे भन्ने विषयमा पनि तथ्यसहित प्रष्ट पारे ।

तत्कालीन सोभियतसँग रुसमा लेनिनवादमाथि स्टालिनवाद हाबी भएपछि बिपीले कम्युनिस्ट आन्दोलनबाट पलायन भएको बाबुरामको भनाइ थियो ।‘उहाँ कम्युनिस्टमा लाग्दा लाग्दैपनि अन्तिममा कम्युनिस्ट छोड्नु भयो । त्यतिबेला सोभियत रुसमा लेनिनवादमाथि स्टालिनले जसरी हाबी भए, उनले आफ्नै साथीहरू १४४ जना केन्द्रीय सदस्यमध्ये ९८ जनाको हत्या गरे । त्यसबाट असन्तुष्ट भएर उहाँले कम्युनिस्ट छोड्नु भएको थियो’, उनले भने ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय