गगन थापाको ससुरालीमा गुटको ‘डिनर’ मिटिङ

काठमाडौ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाको ससुराली घरमा पार्टी भित्रको डा.शेखर कोइराला-गगन थापा पक्षीय गुटको भेला गरिएको छ।
भेलामा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेता उपस्थित थिए।महामन्त्री थापाका ससुरा अर्जुननरसिंह केसीको काठमाडौको इटालीटारमा रहेको घरमा यो जमघट भएको हो।
स्रोतका अनुसार जमघटमा शेखर-गगन पक्षका मात्रै पदाधिकारी सहित अन्य प्रभावशाली नेताहरुबिच छलफल भएको थियो।कांग्रेस भित्रको शेखर-गगन समूहले पार्टी ‘पुनर्जागरण अभियान’ को नाममा देशब्यापी कार्यक्रम लैजाने भनिरहेका बेला यो जमघटलाई अर्थपूर्ण मानिएको छ। यद्यपि यो जमघटमा डा.शेखर कोइराला र उनको समुह कै केही नेता भने अनुपस्थित थिए।
नुवाकोटबाट प्रतिनिधि सभामा सांसद रहेका अर्जुन नरसिंह केसीले नेताहरुबीचको छलफल सकिएपछि सबैलाई घरमै ‘डिनर’ समेत गराएको स्रोतले बताएको छ।
छलफलमा सभापति शेरबहादुर देउवाको कार्यशैलीको आलोचना समेत गरिएको थियो। यसैगरी समसामयिक राजनीतिक घटनाक्रम, सरकारको काम कारबाहीका साथै पार्टी रुपान्तरण तथा वैचारिक पुनर्जागरणका विषयमा पनि छलफल भएको सहभागी एक नेताले परेवान्युजलाई जानकारी दिए ।
छलफलमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, सहमाहामन्त्री बद्री पाण्डे र जीवन परियार तथा नेताहरु बलबहादुर केसी, दिलेन्द्रप्रसाद बढु, प्रदिप पौडेल,जगदिशनरसिंह केसी,मधु आचार्य लगायतका नेता सहभागी थिए । उनीहरुले साढे दुई घन्टा छलफल गरेपछि खुशीसाथ ‘डिनर’ गरेका थिए।

