देशभर ७ लाख ५३ हजार माओवादी !
सबैभन्दा धेरै बाग्मतीमा,कोशी प्रदेशमा जम्मा ९ हजार मात्रै
काठमाडौ।सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको देशभर साढे सात लाख पार्टी सदस्य रहेको बताइएको छ। माओवादीको दाबी अनुसार सबैभन्दा बढी सदस्य बागमती प्रदेशमा देखिएका छन्।
पार्टी संगठनलाई चलायमान बनाउन र जनतासामु आफ्ना एजेन्डा स्थापित गर्न माओवादीले देशभर ३ महिने बिशेष अभियान चलाउनु अगाडी पार्टी सदस्य संख्या सार्बजनिक गरेको हो।
माओवादी दाबी अनुसार देशभर ७ लाख ५२ हजार ९ सय ५६ सदस्य रहेका छन् । माओवादीले ७ प्रदेश सहित अन्य ३ वटा बिशेष प्रदेश संरचना गठन गरि पार्टी भित्र आन्तरिक रुपमा १० प्रदेश संरचनाको अभ्यास गरिरहेको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साउन १७ देखी २१ सम्म काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा पेश गरेको सदस्यता अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा देखिएका छन्। प्रतिवेदन अनुसार काठमाडौं उपत्यकासहित बागमती प्रदेशका १३ जिल्लामा गरेर १ लाख ४७ हजार ३५३ जना माओवादीका सदस्य छन्।
त्यसैगरी चुनावी नतिजामा कमजोर देखिएको मधेस प्रदेशमा सदस्य संख्या भने बागमती पछि धेरै देखिएको छ।मधेसका ८ जिल्ला माओवादीको सदस्य संख्या १ लाख १६ हजार ९७५ रहेको छ।
जनयुद्धको आधार इलाका मानिएको रोल्पा,रुकुम, दाङ समेतको लुम्बिनी प्रदेशमा १ लाख १२ हजार ९१० सदस्य संख्या रहेको छ भने सबैभन्दा कमजोर कोशी प्रदेशमा जम्मा ९ हजार ६०१ जना मात्र पार्टी सदस्य छन्।
त्यस्तै गोरखा,बागलुङ,तनहुँ समेत गण्डकी प्रदेशमा ६६ हजार ६ सय ८७ माओवादी सदस्य छन् भने सुदूरपश्चिम प्रदेश ८० हजार ४८२ र कर्णाली प्रदेशमा ८५ हजार ७ सय ७४ सदस्य छन।
माओवादी पार्टी संरचना अनुसार भौगोलिक र गैरभौगोलिक गरी ११० जिल्ला समन्वय समितिहरू रहेका छन्।पार्टी भित्र विभिन्न जनबर्गिय संगठन,विभिन्न मोर्चा र पेशागत संगठन गरी जम्मा २९ वटा संगठन क्रियाशील रहेको माओवादी प्रतिवेदनमा उल्लेख छ।

