कसले बनायो प्रचण्डलाई वडाको इन्चार्ज ?

पोखरा,७ भदौ । सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले गण्डकी प्रदेशका ११ जिल्लामा इन्चार्ज तोकेको छ । माओवादी केन्द्र गण्डकी प्रदेशको पोखरामा भएको सातौं पूर्ण बैठकले प्रदेश अन्तर्गतका पालिका तथा वडामा समेत नेताहरुको जिम्मेवारी यकीन गरेको छ।

यसरी जिम्मेवारी तोक्दा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पनि जिम्मेवारी ठोस गरिएको छ। माओवादीले अध्यक्ष प्रचण्डलाई जिल्ला,महानगर,नगरपालिका र गाउँपालिका भन्दा तलको जिम्मेवारी दिएको छ। अध्यक्ष प्रचण्डलाई गोरखाको एउटा वडाको इन्चार्ज बनाइएको छ।

३६ वर्षदेखि पार्टीको नेतृत्व गर्दै आएका अध्यक्ष ‘प्रचण्ड’लाई माओवादी जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको गाउँ बारपाक सुलिकोट वडा नं. ८ मा पार्टीको इन्चार्ज बनाएर खटाइएको सो पार्टीले जनाएको छ। ‘अध्यक्ष कमरेड प्रचण्ड पनि अभियानमा खटिनुहुन्छ। उहाँ गोरखा बारपाक सुलिकोट-८ मा खटिने निर्णय भएको छ’ माओवादी गोरखा इन्चार्ज दीपक कोइरालाले जानकारी दिए ।

यसैगरी केन्द्रीय सदस्य राजकाजी गुरुङ (करण) स्याङ्जा जिल्ला इन्चार्ज बनेका छन् । अर्का केन्द्रीय सदस्य दीपक कोइरालालाई गोरखा जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ । कास्कीमा नेत्रनाथ अधिकारी (हिमाल) इन्चार्ज बनेका छन् । उनी गण्डकी प्रदेशका पूर्वसभामुखसमेत हुन् ।

माओवादीले तनहुँमा शैलेन्द्र घिमिरे, लमजुङमा आशा खनाल, पर्वतमा बलावती शर्मा, मनाङमा बुद्धिराम गुरुङ, नवलपुरमा अमर तमु, बागलुङमा गोविन्द पौडेल, म्याग्दीमा गुप्तबहादुर हमाल र मुस्ताङमा कपिल लामालाई इन्चार्जको जिम्मेवारी दिएको छ।

भदौ १६ देखि सञ्चालन गर्ने ३ महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को पूर्वसन्ध्यामा नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय