ललिता निवास प्रकरणः सीआईबीले बुझायाे अनुसन्धान प्रतिवेदन

काठमाडाैं, ५ भदाै । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रतिवेदन बुझाएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार मंगलबार बिहान फाइल आएको र अब अध्ययन गरेर अभियोग दायरबारे निर्णय गरिने छ । सीआईबीले असार १२ गते भाटबटेनी सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीर शाहलगायत २३ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो।
तीमध्ये ५ जना अदालतको आदेशले रिहा भए भने १८ जना हिरासतमा छन् । यो प्रकरणमा सीआईबीले दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु चन्द्रदेव जोशी, विजयकुमार गच्छदार, सञ्जय साह, पूर्व मुख्यसचिव लिलामणि पौडेलसँग पनि बयान लिएको छ।
अब दुई दिनभित्र जिल्ला अदालत काठमाडौं वकिल कार्यालयले मुद्दा दायर गर्नेछ। सीआईबीले सरकारी लिखत किर्तेको कसुरमा मुद्दा अगाडि बढाएको छ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दाको पनि फैसला हुन बाँकी छ।

