च्यासलमा ओली-रावल छलफलमा केके भए ?

काठमाडौं, ३१ साउन । मङ्गलबार नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा नेता भीम रावल र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भयो । यस भेटलाई केहिले अर्थपूर्ण रुपमा हेरेका थिए । रावलले भने सामान्य छलफल भएको बताएका छन्।
रावलका अनुसार भेटमा देश र पार्टीको पछिल्लो स्थितिबारे छलफल भएको थियो । ‘अहिले देशको स्थिति र पार्टीको स्थितिबारे सामान्य कुराकानी भयो । हाम्रा सोच दृष्टिकोणबारे समान्य छलफल भयो, अब फेरि छलफल गरौं भन्नुभएको छ’, उनले भने ।
धेरै लामो समयपछि आफूहरुबीच भेटवार्ता भएको भन्दै उनले भने, ‘उहाँ पार्टीको अध्यक्ष देश विदेशको धेरै जानकारी सूचना हुन्छ म पनि अध्ययन गर्ने मान्छे आफ्ना विचारहरुको बारेमा कुराकानी भयो। फेरि छलफल गरौं भन्नेमात्र भयो।’
चितवनमा भएको एमालेको १०औं महाधिवेशनमा ओलीलाई अध्यक्षमा चुनौती दिएर पराजित भएका रावल त्यसयता च्यासल पुगेका थिएनन् । आफूसँग प्रतिस्पर्धा गरेपछि रुष्ट बनेका ओलीले उनलाई एमालेबाट किनारा लाउन खोजेका थिए।
२०७९ मंसिरको चुनावमा टिकटसमेत नदिएपछि पार्टी छाड्ने आकलन गरिएपनि रावल एमालेमै सक्रिय थिए । यद्यपि, उनलाई ओलीले कुनै भूमिका दिएका थिएनन् । गृहजिल्ला अछाममा सक्रिय रावल च्यासल पुगेसँगै अब एमालेको कुनै जिम्मेवारी पाउने अनुमान गरिएको छ।
ओलीले पछिल्लो समय पार्टी पदाधिकारी र असन्तुष्ट अन्य नेताहरूसँग पनि निरन्तर संवाद गर्दै आएका छन्।

