गगन थापालाई आयोगले गर्यो कारबाही !
बुझाए १५ हजार जरिवाना
काठमाडौ ।नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौ-४बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापा निर्वाचन आयोगको कारबाहीमा परेका छन् ।
पुर्व स्वस्थ्यमन्त्री समेत रहेका महामन्त्री थापाले निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना समेत तिरेका छन्। उनले २०७९ मंसिर ४ गते प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुँदा गरेको खर्च विवरण समयमै सार्वजनिक नगरेको भन्दै १५ हजार जरिवाना तिरेका हुन् ।
आयोगले सो निर्वाचनमा प्रदेश तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका २ हजार ४ सय ३५ उम्मेदवारलाई जरिवाना गरेकोमा गगन थापा पनि परेका थिए।
नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईलाई पराजित गरि बिजयी भएका थापाले बिहिवार आयोगले तोकेअनुसारको जरिवाना बुझाएको स्रोतले जनाएको छ। थापा संगै उनले हराएका भट्टराई पनि जरिवाना बुझाउने सुचिमा छन् ।यसैगरी काठमाडौ १ बाट उम्मेदवार रहेका राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रले पनि आयोगमा विवरण नबुझाएको देखिएको छ।
निर्वाचन आयोगले मंगलबार सूचना निकालेर २०७९ मंसिर ४ मा भएको निर्वाचन खर्च विवरण सार्वजनिक नगरेपछि २ हजार ४ सय ३५ उम्मेदवारलाई जरिवाना गराउने निर्णय भएको जनाएको थियो।
प्रतिनिधि सभाका १ हजार ३७ तथा प्रदेश सभामा १ हजार ३ सय ९८ गरी कूल २ हजार ४ सय ३५ जनालाई प्रतिव्यक्ति १५ हजारका दरले जरिवाना तोकिएको निर्वाचन आयोगले जनाएको छ।

