तिनाउ नदीले खतराको तह पार गर्यो

काठमाडौं, ९ साउन । गएरातिदेखि चितवन, नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भारी वर्षाका कारण तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको छ । तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ । बाढी बढ्दो क्रममा रहेकाले दिउँसो १२ बजेसम्म सतर्क रहन आग्रह गरिएको छ ।
यसैगरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ र साना खोलाहरूको बहाव बढ्ने सम्भावना भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

