इमर्जिङ एसिया कपमा नेपालको कमजोर प्रदर्शनका कारणहरु
प्रतिक भट्ट
परेवान्युज
|
श्रावण ४ गते, २०८० - ०९ः१७ मा प्रकाशित
Photo: CAN
काठमाडौं, ३ साउन । श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले समूह चरणका तीनवटै खेल खेलिसकेको छ । यद्यपि दुई खेलमा हार व्यहोरेको नेपाल यहाँबाट अगाडि भने बढ्न सकेन ।
नेपाल दुई बलिया टोली भारत र पाकिस्तानका ए टोलीसँग पराजित हुँदा बुधबार युएईको टोलीलाई पराजित गर्दै जीतका साथ प्रतियोगिता टुङ्गग्याउन भने सफल भयो ।
जिम्बावेमा विश्वकप छनौट प्रतियोगितामा नै केही कमजोर देखिएको नेपालले इमर्जिङ टिम्स एसिया कपमा प्रमुख खेलाडीहरु नहुँदा प्रदशर्नमा सुधार गर्न सकेन र समूह चरण पार गर्न सकेन ।
इमर्जिङ एसिया कपमा तीनवटै खेलमा एक-दुई खेलाडीबाहेक निराशाजनक ब्याटिङ गरेको नेपालले बलिङमा पनि सोचेजस्तो प्रदर्शन गर्न सकेन । कारणहरुका बारेमा चर्चा गरौं:
बलिया प्रतिद्वन्दी: नेपाल भारत पाकिस्तान र युएईको ए टोलीसँगै समूह बी मा रहेको थियो । भारत र पाकिस्तानको ए टोलि भएपनि सिनियर टोलीको अनुभव बटुलिसकेका र उच्च फर्ममा रहेका खेलाडीहरु थिए । भारतको टोलीमा त आइपिएलमा दमदार प्रदर्शन गरेका देखि लिएर भारतलाई उमेर समूहको उपाधि दिलाएका खेलाडीहरु थिए । उनीहरु सामू नेपालको बलिङ र ब्याटिङ दुवै चल्न सकेन र पराजित हुन पुग्यो ।
निराशाजनक ब्याटिङ: नेपालका कुनैपनि ब्याटरले प्रतियोगितामा एकै खेलको प्रदर्शनलाई निरन्तरता दिन सकेनन् । उच्च क्रमका ब्याटरहरुबाट रन नबन्दा संकटमा फसेको नेपाललाई तल्लोक्रमका ब्याटरले केही राहत दिलाएका थिए । नत्र भारत र पाकिस्तान दुवैसँग नेपाल अझै कम रनमा रोकिन सक्थ्यो । शीर्षक्रमका ब्याटरले जिम्मेवारी बहन नगर्दा नेपालले च्यालेन्ज दिनै सकेन । ओपनर कुशल भुर्तेल पाकिस्तानसँग १ र भारतसँग शून्यमा आउट भएका थिए । आसिफ शेखले पनि रन बनाउन सकेनन् । त्यस्तै मध्यक्रमका ब्याटरहरुबाट पनि रन निस्कन नसक्दा नेपाल सुरुवातदेखि नै दबाबमा परेको थियो ।
Photo: ACC
प्रमुख खेलाडीको अभाव: नेपालको कमजोर प्रदशर्नको अर्को कारण भनेको प्रमुख खेलाडीहरु नहुनु पनि हो । स्टार लेग स्पिनर सन्दीप लामिछानेको अभावमा नेपालको बलिङ क्षमता बलियो हुँदैन । त्यसमाथि पनि तीव्र गतिका बलर करण केसी र दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनको अभाव नेपाली टोलीलाई खट्कियो । करणलाई आराम दिँदा सन्दीप र दीपेन्द्र भने ग्लोबल टी२० का लागि क्यानडा जानुपर्ने थियो । सोही कारण टोलीमा केही कम अनुभव भएका खेलाडी थिए ।
जिम्मेवारी र संयमताको कमी: कुनै पनि टोलीको प्रदर्शन राम्रो हुनका लागि जिम्मेवारी वहन गर्नेदेखि लिएर संयमताको पनि जरुरत हुन्छ । नेपालका कुनैपनि खेलाडीले आवश्यक जिम्मेवारी लिएर खेलेको देखिएन भने संयमित हुनुको कुरै छाडौं । पावरप्लेमा शर्ट बलमा निरन्तर संघर्ष गरिरहेको नेपालले त्यसमा संयमित भएर डिफेन्स र अट्याक गर्नुपर्ने हुन्छ । तर जोखिमपूर्ण शटहरु खेलेर ब्याटर आउट हुँदा संयमताको कमी भएको स्पष्ट देखिन्छ ।
बुधबार मात्र एसिया कपको तालिका पनि सार्वजनिक भएको छ । नेपालले पहिलो खेल पाकिस्तानँग अगस्ट ३० मा र भारतसँग ४ सेप्टेम्बरमा खेल्ने तय भएको छ । भारत र पाकिस्तानको सिनियर टोलीसँग नेपालको यो पहिलो भेट हुने छ ।
ए टोलीसँग नै कमजोर प्रदर्शन गरेको नेपालले एसिया कपमा केही च्यालेन्ज दिनेगरी खेल्नुपर्ने हुन्छ जसका लागि खेलाडीहरु जिम्मेवार र संयमित हुनपर्ने छ ।
जित निकाल्न कठिन भएपनि कडा चुनौति पेश गर्न सके नेपाल आगामी दिनमा हुने प्रतियोगितामा बलियो दाबेदारी दिँदै टोलीलाई थप सकारात्मक ऊर्जा दिन सफल हुने छ ।