सन्दर्भ केन्द्रिय समिति बैठक: बलियो र बदलिएको कांग्रेस चाहियो !
नानु दाहाल
नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजबाट बस्दै छ । झन्डै एक वर्षपछि बस्न लागेको पार्टीको बैठकमा आम नेताकार्यकर्ताको चासो छ। बैठकले गर्ने निर्णय र लिने नितिले नै पार्टीको आगामी लक्ष्य तय हुनेछ।
बैठकका लागि १० एजेन्डा तय गरिएको छ। यिनै एजेन्डामा बहस र छलफल गर्दै अबको पार्टीलाई अनिर्णयको बन्दी होइन गतिशील र चलायमान बनाउने विश्वास पनि लिइएको छ। लामो प्रजातान्त्रिक इतिहास बोकेको नेपाली कांग्रेस पार्टीसंग आफ्नै कार्यकर्ता मात्र होइन आम जनताको विश्वाससँगै चासो र भरोसा पनि धेरै छ।
जहाँनिया राणा शासन र पन्चायतका विरुद्ध लडेको कांग्रेसले नै यो देशमा संविधानको रक्षा गर्दै लोकतन्त्रका निम्ति अडान राख्न सक्छ र देशको समृद्धि अनि बिकासमा ध्यान दिन सक्छ भन्ने अपेक्षा सबैलाई छ। यस्तो अवस्थामा पार्टी चाहिँ गुट उपगुटमा बिभाजित हुनु र अनिर्णयको बन्दी हुनु वा जनअपेक्षा अनुरुप चल्न नसक्नु बिडम्बना हुन्छ। त्यसैले पार्टीको यो बैठकले यस्ता कुरामा पक्कै ध्यान पुर्याउने नै छ भन्ने हाम्रो पनि चाहना र विश्वास हो । पार्टी भित्रका मतभेद र असमझदारीलाई पार्टीको बैठकमै धोइ पखाली गर्नु राम्रो हो। बैठकमा नबोल्ने र बाहिर मिडियाबाजी गर्ने कुरा अब जनता र आम कार्यकर्ताले रुचाउँदैनन।
पार्टी सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, महामन्त्रीद्वय गगनकुमार थापा अनि विश्वप्रकाश शर्मालाई हेरेर मात्रै कोही कांग्रेस भएको होइन । कांग्रेसमा उहाँहरुको जत्तिकै त्याग, बलिदान र योगदान दिने धेरै नेताकार्यकर्ता छन् भन्ने पनि स्वीकार गर्न सक्नुपर्छ । हिजोको दिनमा प्रजातन्त्र र लोकतन्त्रका लागि भएका संघर्षमा धेरैका परिवारले दु:ख पाएका छन् । कांग्रेसमा अहिले नेतृत्वमा रहेका नेताको जत्तिकै योगदान हिजो पन्चायत विरुद्धको आन्दोलनमा सहिद हुनेका परिवारको पनि छ।
पार्टी कुनै व्यक्ति वा गुटका कारणले मात्रै ठूलो भएको होइन । यो त आम किसान,मजदुर,विद्यार्थी,महिला र जाती जनजातिको योगदान र बलिदानको समिश्रण र संयोजन हो । हामीले आज कांग्रेसको नेताकार्यकर्ता भन्ने अवसर प्राप्त हुनुमा हिजोका नेताकार्यकर्ताको पनि महत्त्वपूर्ण भुमिका थियो भन्ने हेक्का राखौं । वीपी कोइराला,गणेशमान सिंह,कृष्णप्रसाद भट्टराई,गिरिजाप्रसाद कोइराला,सुशील कोइराला भनेर हामिले नेता र नेतृत्वको कुरा गरिरहदा हिजोको पन्चायती ब्यबस्थाका विरुद्ध भएको प्रजातान्त्रिक आन्दोलनमा रगत बगाउने ती योद्धालाई कहिले सम्झिने ?
जनयुद्धको नाममा भएको हिंसामा ज्यान गुमाउने कांग्रेस नेताकार्यकर्ता र बिस्थापित हुने तिनका परिवारलाई कहिले न्याय मिल्ने ? चुनावमा गठबन्धन गरियो भन्दैमा तिनका अपराधलाई माफी दिन सकिन्छ ? कांग्रेसले आफ्नो अस्तित्व जोगाउन कम्युनिस्टको सरण पर्ने हो र ? कम्युनिस्टहरुसंग जुनसुकै अवस्थामा पनि घाँटी जोडेर अगाडी बढ्दा जनतालाई नै हामी कांग्रेस हो कि कम्युनिस्ट भयौं भन्ने भ्रम परिसक्यो । १० औं बर्ष सम्म रुखमा भोट दिन नपाउनु, सत्तामा कम्युनिस्टलाई अगाडी लगाएर आफू पछि पछि लाग्नुले हाम्रो सिद्धान्त र विचारको रक्षा गर्ला त ?
यी र यस्ता धेरै प्रश्नहरु अहिले कांग्रेस नेताकार्यकर्तामा उब्जिएको छ। पार्टीको यो बैठकले यसको निराकरण गर्नेछ भन्ने हाम्रो अपेक्षा हो । पार्टीको १४ औं महाधिवेशनमा कसले कसलाई साथ दियो र कसले धोका दियो भन्ने नाममा पार्टीमा लेनदेन र खासखुस नहोस् । जनताले गुटगत कांग्रेस होइन सिङ्गो कांग्रेस देख्न चाहेका छन् । आगामी १५ औं महाधिवेशनमा को सभापति बन्ने योजनामा हुनुहुन्छ र त्यसका लागि अहिलेदेखि खासखुस र हिमचिम बढाउदै हुनुहुन्छ भने त्यसको रिजल्ट सकारात्मक नआउन पनि सक्छ।
अहिले पार्टी बलियो बनाउने बेला हो। अहिलेदेखी गुट उपगुटलाई बलियो बनाउन थालियो भने जनताले हामीलाई दिएको माया र समर्थन अरुले नै खोसीदिन पनि सक्छन् । नयाँको नाममा बजारमा देखिएका हल्लाबाज र मिडियावाजहरुले जनताको भावनालाई आफुतिर तान्न थालेका छन् । यो दिगो होइन तर,जनताको मनमा कांग्रेस भन्दा राम्रो हो कि भन्ने भ्रम छरिरहेका छन् ।
यसर्थ,जनताले हामीबाट जे आशा र अपेक्षा राखेका छन् त्यो कांग्रेसले नै पूरा गर्नुपर्छ। अरुले के गर्छ भन्दा पनि कांग्रेसले के गर्छ भन्ने कुरा महत्त्वपूर्ण हो। पार्टीको यो बैठकले पक्कै नयाँ कोर्ष निर्माण गर्दै गुट उपगुटको पक्षमा होइन एकपटक सिङ्गो कांग्रेसको पक्षमा निर्णय गर्नेछ । जसले अबको कांग्रेसलाई बलियो कांग्रेस र बदलिएको कांग्रेसको रुपमा देख्न पाइने छ। जय नेपाल !!!

