इमर्जिङ एसिया कपमा आज नेपालले भारतसँग खेल्दै

फाइल तस्बिर: क्यान

काठमाडौं, १ साउन । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज आफ्नो दोस्रो खेलमा भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोस्थित आर प्रेमादशा क्रिकेट रङ्गशालामा हुने डे-नाइट खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

नेपालको कप्तानी रोहित पौडेलले गर्दा भारत ए को कप्तानी यश धुलले गर्ने छन् । आइपिएल समेत खेलिसकेका धुलको कप्तानीमा भारतले यू-१९ विश्‍वकपको उपाधि पनि जितेको छ ।

नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो । भारतले युएई ए लाई ८ विकेटले हराएको थियो । उक्त खेलमा यश धुलले शतक प्रहार गरेका थिए ।

आजको खेलमा नेपाललाई भने जीत निकाल्नै पर्ने दबाब छ । यद्यपि अभिषेक शर्मा, साइ सुदर्शन, रियान पराग, प्रभ‍सिमरन सिंहजस्ता युवा स्टारले भरिएको टोलीलाई हराउन सहज भने छैन ।

नेपाल समूह बी मा भारत ए, पाकिस्तान ए र युएई एसँगै रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय