आज साउने संक्रान्ति मनाइँदै

काठमाडौं, १ साउन । आज साउन १ गते अर्थात् साउने संक्रान्ति । आजको दिन परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाउने गरिन्छ ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा मनाउने परम्परा छ । त्यसैगरी आजको दिनलाई लुतो फाल्ने दिन पनि भनिन्छ ।
अधिकांश नेपालीहरु असार महिनाभर रोपाइँमा व्यस्त हुने भएकाले हिलो मैलोबाट लाग्ने छालासम्बन्धी रोग ठीक पार्न भन्दै साउने संक्रान्तिको दिन लुतो फाल्ने चलन पनि चलिआएको छ ।
परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।
साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ ।
आजै साउन महिनाको पहिलो सोमबार पनि परेको छ । देशभरका शिवालयमा विहानैदेखि दर्शनार्थीको घुइँचो पनि लागेको छ ।

