सबै प्रदेशमा वर्षाको सम्भावना, केही ठाउँमा ठुलो पानी पर्ने

काठमाडौं, २६ असार । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ ।
अहिले देशभर सामान्य देखि पूर्ण बदली रहेकोछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशका तराइका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ ।
वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ । तसर्थ हावा हुरी भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

