पसलमा सजिए हरियो चुरा र पोते

काठमाडौं, २५ असार । महिना र गते अनुसार साउन १ गतेदेखि साउनको व्रत सुरु हुने भएपनि चन्द्रमास अनुसार आजै (२५ असार) देखि पहिलो साउने सोमबारको व्रत सुरु भएको छ ।
सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । त्यसैले गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको छ।
साउने सोमबार व्रत सुरु भएसंगै काठमाडौको पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेको छ । त्यसैगरी महिलाहरूले लगाउने हरिया चुरा,पोते,लिपिस्टिक लगायत श्रृङ्गार सामाग्रीले पसलहरु भरिभराउ छन् । पसलमा सामान सजिएसंगै श्रृङ्गार सामाग्री किन्ने महिलाको संख्या पनि बढेको छ।
साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ । मन्दिर जादा मात्रै होइन साउन महिनाभर हिन्दु नारीले हरिया वस्त्र र श्रृङ्गार सामाग्री लगाउने गरेका छन् । साथै कसैलाई उपहार दिन र दान गर्न पनि हरियो वस्त्र र श्रृङ्गार सामाग्री खरिद गर्ने चलन छ ।





तस्वीर सौजन्य: नानु दाहाल (आफ्नो पसल), गौरीघाट काठमाडौ

