भारी वर्षाका कारण उत्तरी भारतको जनजीवन प्रभावित

काठमाडौं, २५ असार । उत्तरी भारतमा भारी वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । दुई दिनदेखिको वर्षाले दिल्ली, उत्तरप्रदेश, हिमाचल प्रदेशलगायतका राज्यको जनजीवन प्रभावित भएको हो ।

गाजियावाद, बागपत, मेरठ, शामली, मुजफ्फरनगर लगायतका जिल्लामा १० जुलाई (आज)देखि १५ जुलाई (३० गते)सम्म सबै विद्यालय बन्द गरिएको छ । नोयडामा पनि आज सबै स्कुल बन्द छन् । बन्द अवधिभर अनलाइनमार्फत् पढाइ हुने सूचना स्कुलहरुले जारी गरेका छन् ।

कतिपय स्थानमा सडक र पुलसमेत बगेका छन् भने खेतियोग्य जमिन र घरहरु जलमग्न भएका छन् । कार र दुई पाङ्ग्रे सवारी साधनहरु पानीमा डुबेको देखिन्छ । मानिसहरु घरबाट बाहिर निस्किन सकेका छैनन् ।

राजधानी नयाँदिल्लीमा पछिल्लो १२ घण्टामा १२६ मिलिमिटरसम्म वर्षा भएको रेकर्ड रहेको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यी सबै स्थानमा आज सोमबार पनि भारी वर्षाको पूर्वानुमान छ ।

यमुना नदीको बाढी खतराको तहसम्म पुगेपछि नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय