एमालेले भन्यो: प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ

काठमाडौं, २० असार । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ । प्रधानमन्त्रीको विवादित भनाइलाई लिएर आक्रोशित एमालेले तत्काल प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेको हो ।
बुधबार संसदको बैठक सुरु भए लगत्तै समय लिएर बोलेका एमाले सांसद रघुजी पन्तले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाए । उनले अघि भने, ‘नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, उहाँले राजीनामा गर्नुस् ।’
‘प्रधानमन्त्रीको अभिव्यक्तिले देशको शिर निहुरियो । हामी भक्ति थापा र बलभद्र कुँवरका सन्तान, हामीलाई देशको माया छ’, उनले भने, ‘तिनैका सन्तान आफ्नो देशको स्वाभिमान जोगाउन लागेका छन्। तर देशको गरिमा र अखण्डताभन्दा बढी प्रचण्डलाई प्रधानमन्त्री प्यारो रहेछ।’
प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने एमालेको अडान छ ।

