भारतलाई नवौंपटक साफ च्याम्पियनसिपको उपाधि

काठमाडौं, २० असार । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल आयोजक राष्ट्र भारतले जितेको छ । मङ्गलबार राति सम्पन्न फाइनल खेलमा आमन्त्रित टोली कुवेतलाई टाइब्रेकरमा हराउँदै भारतले नवौंपटक साफको उपाधि जितेको हो ।
टाइब्रेकरमा भारतको पाँचवटा प्रहार सफल हुँदा कुवेतले चारवटा मात्र सफल प्रहार गर्न सक्यो । भारतले एक मिस गर्दा कुवेतले २ मिस गरेको हो । कुवेतको निर्णायक प्रहार भारतका गोलरक्षक गुरप्रीत सिंह सान्धुले बचाउ गर्दै भारतलाई जीत दिलाए ।
त्यसअघि निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समयमा १ १ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको पहिलो हाफमै १-१ को बराबरी हुँदा त्यसपछि थप गोल हुन सकेनन् ।
पहिलो हाफको १३ औं मिनेटमा साबाहिब अलखाल्दीले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । पहिलो हाफमै भारत ललियान्जुला च्याङ्टेले ३९ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

