शक्ति र भक्ति भन्दा सत्य र सुशासनको पक्षमा राजनीति: कुमार सुवेदी

प्रतिक भट्ट

मानवअधिकार, सामाजिक न्याय र समाजसेवा मार्फत आफ्नो पहिचान स्थापित गरिसकेका र नेपाली राजनीतिमा समेत सक्रिय युवा नेता हुन् कुमारराज सुवेदी । काठमाडौंको साविक जोरपाटी गाविस (हाल गोकर्णेश्वर नगरपालिका)का स्थानीय व्यक्तित्व कुमार राज सुवेदी नेपाली राजनीति र सामाजिक क्षेत्रमा नयाँ नाम होइन ।

युवा अवस्थामै एमनेष्टी इन्टरनेसनल मार्फत मानवअधिकार र सामाजिक न्यायमा सक्रिय कुमारले विद्यार्थी राजनीति मार्फत बहुदलीय प्रजातन्त्र स्थापनाको निम्ति पनि आफुलाइ सक्रिय गराउँदै अगाडि बढे ।

विगत ३३ वर्षदेखी नेपाली राजनीतिमा रहेका कुमार २०५४ को स्थानीय निर्वाचनमा साविक जोरपाटी गाविस उपाध्यक्षका उम्मेदवार थिए । नेपाली काँग्रेसबाट उम्मेदवार रहेका उनले झिनो मतले चुनावमा पराजित भएपनि राजनीति छाडेनन् र पार्टीमा सक्रिय हुँदै गए । एकातिर सामाजिक संस्था लायन्स इन्टरनेशनलमा रहेर समाजसेवा र अर्कोतिर पार्टी राजनीतिमा कुमार अगाडि बढ्दै गए । हाल लायन्स इन्टरनेशनल डिस्ट्रीक ३२५ ‘डी’ मा आबद्ध कुमार सन २०१६/०१७ मा लायन्स इन्टरनेसनल डिस्ट्रीक ३२५ ‘ए'(१) को गभर्नर भएर पनि काम गरे । यता पार्टीमा पनि उनी १४ औं महाधिवेशनमा भारी मत सहित महाधिवेशन प्रतिनिधि निर्वाचित भए ।

राष्ट्रियता, लोकतन्त्र र समाजवादको विचारमा अडिग रहेका कुमार पार्टीमा कहिले पनि शक्ति र भक्तिको पछि लागेनन् । उनी कुनै शक्तिशाली नेताको पछि लाग्‍ने वा नेता र नेतृत्वको भक्ति गान गाएर राजनीति गर्नेमा पर्दैनन् । उनको राजनीति सधैं सत्य र सुशासनको पक्षमा मात्रै रहिरह्यो । तर,पछिल्लो समय कुमारले ३३ वर्षदेखी राजनीति गर्दै आएको नेपाली कांग्रेस पार्टी छाडेका छन् । पार्टी छाडेका विषयमा परेवान्युजसँग कुमारले भने- ‘मैले पार्टी छाड्नु अगाडि पार्टीले नै आफ्नो प्रजातान्त्रिक मूल्य मान्यता, आदर्श, विचार र वीपीको सिद्धान्तसँगै कांग्रेसको पहिचान छाड्यो ।’

कांग्रेसले आफ्नो पहिचान भन्दा पनि माओवादी लगायत दलसँग मिलेर चुनावी प्रतिस्पर्धा गर्नेदेखि भ्रस्टाचारलाई नियन्त्रण गर्ने र सुशासनको मुद्दा उठाउने कुरालाई ध्यान नदिएको कुमारको तर्क छ । ‘म राजनीतिसँगै सामाजिक र धार्मिक क्षेत्रमा पनि लागेको व्यक्ति भएकोले देश र जनताको विपक्षमा हुने कुनैपनि कुरालाई अन्धभक्त भएर समर्थन गरिरहन सकिनँ’ कुमारले परेवान्युजसँग भने, ‘मलाई कुनै पद वा पावर भन्दा पनि असल राजनीति गर्नु छ । जुन कुरा अब काँग्रेसबाट सम्भव देखिनँ।’

यतिबेला कुमारले काँग्रेस पार्टीको जिम्मेवारीबाट राजीनामा दिएपनी अर्को पार्टीमा भने प्रवेश गरेका छैनन् । तर, बितेको केही दिनदेखि उनी नयाँ वैकल्पिक शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यक्रममा देखिन थालेका छन् । रवि लामिछाने नेतृत्वको रास्वपाले सुशासनको मुद्दा लाई मुख्य राजनीतिक लक्ष्य बनाएको कुमारलाई मन परेको छ । ‘हो, रास्वपाको धेरै कुरा देश र जनताको पक्षमा र सुशासनको पक्षमा देख्छु’ कुमार भन्छन्- ‘मैले कांग्रेस छाडेपछि धेरैले मलाई रास्वपाबाट राजनीति गरेहुन्थ्यो भन्ने शुभेच्छा राखेका छन् ।’

३३ वर्ष कांग्रेसको राजनीति गर्दा पनि कुमारलाई कुनै पछुतो चाहिँ छैन । देशको अग्रणी प्रजातान्त्रिक पार्टीमा रहेर कृष्णप्रसाद भट्टराईको चुनावी मोर्चा सम्हाल्दै आफैं चुनावी प्रतिस्पर्धा गर्दै यहाँसम्म आउँदा धेरै कुरा सिक्न पाएको उनको भनाइ छ । तर, २०४८ सालमा भट्टराईलाई आफ्नै पार्टी भित्रबाट चुनाव हराउन सक्रिय हुनेहरूदेखि भने कुमारलाई अहिले पनि अचम्म लागिरहेको छ । एउटै पार्टीमा रहेर पनि सन्त नेता भट्टराईलाई चुनाव हराउँदै फेरि कांग्रेस हुँ भन्न कसरी सकेका होलान् ?

यतिबेला कांग्रेस छाडेपछि भने कुमारलाई ती सबै अतितबाट पाठ सिक्दै अझै सशक्त भएर राजनीति गर्ने हुटहुटी जागेको छ । ‘कतिपयले मलाई जे गर्नुभयो ठिक गर्नुभयो अब राष्ट्रिय स्वतन्त्र पार्टी मार्फत राजनीति गर्नुस् भन्दै शुभकामना समेत दिएका छन्’, कुमार भन्छन्- ‘मेरो चाहना शक्ति र भक्तिको राजनीति भन्दा पनि सुशासनको राजनीति भएकाले त्यसैमा सक्रिय हुन पनि सकिन्छ ।’

राजनीति बाहेक कुमार एम्नेष्टि ईन्टरनेसनल नेपाल, मानव अधिकार तथा सान्ती समाज, लायन्स इन्टरनेशनल लगायत सामाजिक संस्था र केही धार्मिक संस्थामा समेत आवद्ध छन् । नेपाल भलिबल संघको केन्द्रिय उपाध्यक्ष समेत रहेका सुवेदी चामुन्डा पुर्व विद्यार्थी मंचको संस्थापक अध्यक्ष समेत हुन् ।

अध्यात्मतिर लागेर उनले ४ बर्ष साधक परिवारमा जोडीएर साधना समेत गरेका थिए । त्यसैको परिणामस्वरूप आफ्नै संयोजनमा उनले चामुन्डा मन्दीरमा भक्ति संगीतको सुरुवात समेत गराए । जोरपाटी र गोकर्ण क्षेत्र साहित्यिक क्षेत्र समेत भएकोले अग्रजहरुसँग मिलेर अवीनव साहित्य समाज गठन गरेर कुमार संस्थापक सदस्य पनि बने ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • पूर्वराजा ज्ञानेन्द्रसँगको भेट…

    म बाहिरबाट आएर घरको भर्‍याङ चढ्दै थिएँ, टेलिफोनको घण्टी सुनियो । कोठाभित्र पसेर टेलिफोन उठाएँ । त्यस बेलाका त्रिभुवन विश्वविद्यालयका...