नारायणगढ-मुग्लिङ सडक १९ घण्टादेखि अवरुद्ध

चितवन, १५ असार । नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाउन नसक्दा १९ घण्टादेखि सडक अवरुद्ध हुँदा यात्रुहरुको विचल्ली भएको छ ।
मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो झरेकाले सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो खस्न केही कम भएकाले पन्छाउन सुरु गरिएपनि माथिबाट निरन्तर पहिरो खसिरहने भएकाले समस्या भएको छ । लगातार काम गर्न पाइएमा ५ देखि ६ घण्टामा पहिरो पन्छाउन सकिने तर ढुङ्गा खस्ने क्रम नरोकिएमा दिनभरमा पनि हटाउन नसकिने अवस्था छ ।
बिहीबार दिउँसो साढे १ बजेदेखि पहिरो झरेर सो ठाउँमा सडक अवरुद्ध छ । हजारौं यात्रु सडकमै अलपत्र परेका छन् । यो बाटो भएर यात्रा गर्नेलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।

