नेपाल साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरियो

प्रतिक भट्ट

काठमाडौं, ९ असार । नेपाल साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । भारतमा जारी प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा भारतसँग पराजित भएसँगै नेपालको अगाडि बढ्ने सम्भावना सकिएको हो ।

भारतले नेपाललाई २-० ले हरायो । भारतका लागि सुनिल क्षेत्री र महेश नाओरेमले गोल गरे । ६२औं मिनेटमा बाँयातर्फबाट प्राप्त क्रसलाई भारतीय कप्तान सुनिलले वान टच गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।

७०औं मिनेटमा काउन्टर अट्याकबाट आएको बलमार्फत सुनिलले प्रहार गरेको बल गोलरक्षक किरण चेम्जोङले बचाउँदा सो बल बारमा लागेर फर्किएको थियो र त्यसलाई महेशले हेडरले पोस्टको दिशा मात्र दिँदा भारतले अग्रता दोब्बर बनायो ।

पहिलो खेल भन्दा सुधारिएको प्रदर्शन गरेको नेपालले पहिलो हाफमा भारतलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो भने राम्रा मुभहरु पनि बनाइरहेको थियो तर फिनिसिङ भने गर्न सकेको थिएन ।

समूह ए बाट कुवेत र भारत सेमिफाइनलमा पुगेका छन् भने नेपाल र पाकिस्तान एक खेलअगावै बाहिरिएका छन् । समूह चरणको अन्तिम खेलमा नेपाल र पाकिस्तान खेल्ने छन् जुन दुवै टोलिका लागि प्रतिष्ठाको खेल हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय