विश्वकप छनौटबाट नेपाल बाहिरियो, नेदरल्यान्ड्सको सहज जीत

काठमाडौं, ९ असार । जिम्बावेमा जारी आइसिसी विश्वकप छनौट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ । नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको हो । योसँगै नेपालको यस वर्ष विश्वकप खेल्ने सपना टुटेको छ ।
नेपालले दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । नेदरल्यान्ड्सका म्याक्स ओ डाउडले ९० रन बनाए । उनी गुल्शन झाको बलमा बोल्ड हुँदा शतकबाट १० रनले चुके । त्यस्तै बास डे लिडेले अविजित ४१ रन बनाए ।
नेपालका सन्दीप लामिछानेले १० ओभरमा ६० रन दिएर विकेट लिए भने गुल्शन झाले ६ ओभरमा २७ रन दिएर १ विकेट लिए । ओ डाउडले सुरुवातदेखि नै आक्रामक ब्याटिङ गर्दै स्पिनरहरुलाई टार्गेट गरी शट खेलेका थिए ।
त्यसअघि हरारेको ताकासिङ्गा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको विजयी लक्ष्य दिएको थियो । नेपालले ४४.३ ओभरमा अलआउट हुँदै १६७ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए भने कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७ रन बनाए । त्यस्तै भीम सार्कीले २२, गुल्शन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४ र कुशल मल्लले १२ रन बनाए ।
नेदरल्यान्ड्सका लोगान भान बिकले ९.३ ओभरमा २४ रन मात्र दिएर ४ विकेट लिए । उनको यो करियरकै उत्कृष्ट बलिङ हो । त्यस्तै बास डे लिडे र विक्रमजित सिंहले २-२ तथा क्लाटन फ्लोयड र आर्यन दत्तले १-१ विकेट लिए ।
नेपालले ४ खेलमा एक खेल मात्रै जितेर २ अंक मात्र जोड्यो । समूह ए बाट जिम्बावे वेस्ट इन्डिज र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन् । नेपालले अब ७ देखी १०औं स्थान सम्मका लागि प्लेअफ खेल्नेछ ।

