विद्यार्थीको सफलतामा आफ्नो खुशी खोज्दै मिरा सिलवाल

काठमाडौं-६ बौद्ध स्थित महाङ्कालमा रहेको प्रोग्रेसिभ सेकेण्डरी स्कुलकी सहायक प्रिन्सिपल हुन मिरा सिलवाल । बितेको २० वर्षदेखि यसै विद्यालयमा सहायक प्रिन्सिपल रहेकी मिरा शिक्षाको ज्योति फैलाउन व्यस्त छिन् ।

२०५८ साल ताका अध्ययनको क्रममा २ वर्ष जागिरे भएपछि अरुकोमा जागिर खानुभन्दा आफैं केही गरौं भन्ने भावनाले उनलाई शैक्षिक क्षेत्रमै केहि गर्ने हुटहुटी जाग्यो । जसले गर्दा २०६० सालमा उनी सहितको नेतृत्वको प्रोग्रेसिभ स्कुलको स्थापना गरियो । अहिले यो क्षेत्रमा रहेका विद्यालय मध्यमा उत्कृष्ट शैक्षिक वातावरण र व्यवहारिक शिक्षाको लागि प्रोग्रेसिभको नाम अग्रपंक्तिमा आउँछ।

करिब ५०० विद्यार्थी अध्ययन गरिरहेको यस विद्यालयले आफ्नै स्रोतमा कतिपय विद्यार्थीलाई छात्रवृत्तिमा समेत अध्ययन गराइरहेको छ । विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीले चाहे जस्तो पठनपाठनको वातावरण भएकै कारण २० वर्षदेखि विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या घटेको छैन । ‘हामीसँग विद्यार्थी र अभिभावक दुवै खुसी छन्’, उनी भन्छिन्, ‘गुणस्तरीय अनि संस्कारी शिक्षा र शैक्षिक वातावरण राम्रो दिन सकियो भने विद्यार्थीले उच्चतम प्रतिफल ल्याउने कुरामा निश्चिन्त रहन सकिन्छ।’

२०६० सालदेखि जम्मा ७० जना विद्यार्थीबाट सुरु भएको  यस विद्यालयमा हाल ५०० विद्यार्थीले अध्ययन गरिरहेका छन् । पहिलो jर्ष ७० जनाबाट सुरु भएको स्कुलमा त्यसको २ वर्षमा एकैपटक ३०० विद्यार्थी पुगे । ‘यो सबै हामी प्रतिको विश्‍वास र राम्रो शिक्षाको कारण हो’, उनी भन्छिन्- ‘जिवनको सबैभन्दा बढी समय, मेहनत, आफ्नो उमेर र अनुभव अनि ऊर्जा सबै यसैमा लगायौँ त्यसैले आज हाम्रो विद्यालयको पुरै टिम यसमा खुशी छौं ।’

मिरा सिलवाल

सुरुवाती दिनमा विद्यालय खोल्नु र त्यसलाई कुशलतापुर्वक संचालन गरी अगाडी बढाउनु  निकै चुनौतीको कुरा भएको मिरालाई सम्झना छ । ‘हामीले सुरुमा ‘फ्री’मै ट्युसन पढाउन थाल्यौँ जसले गर्दा हाम्रो मेहनत र लगनशीलता देखेर धेरै अभिभावक समेत खुशी हुनुभयो’, उनले परेवान्युजसँगको भेटमा भनिन्- ‘राम्रो काम गर्दै जाँदा कहिलेकाहीँ आर्थिक पक्ष र सामाजिक पक्षले पनि फरक पार्ने रहेछ भन्ने पनि बुझ्न पाइयो ।’

विद्यालयको हरेक विद्यार्थीको सफलतालाई आफ्नो खुशी र सन्तुष्टि ठान्ने मिराले उत्कृष्ट नतिजाको लागि विद्यालयको शैक्षिक वातावरण, पढाउने शिक्षक र अध्ययन गर्ने विद्यार्थीको मेहनत समेत महत्त्वपूर्ण हुने बताउँछिन् । कतिपय अवस्थामा अफ्ट्यारोमा परेका विद्यार्थीलाई होस्टल खर्च समेत व्यहोरेर छात्रवृत्तिमार्फत सहयोग गरेको पनि उनले सुनाइन् । कतिपय विद्यार्थीको आमाबुवाले मेहनत गरेर छोराछोरी पढाउँदै गर्दा बुबाको आकस्मिक मृत्यु हुने र आमाले दोस्रो बिहे गरेर जाने अवस्थामा पढ्दै गरेका विद्यार्थीको पढाई रोकिने अवस्था समेत आएको अनुभव समेत सुनाउँदै मिराले भनिन्- ‘त्यस्तो समस्या र जोखिम भएका विद्यार्थीलाई समेत पढाई पूरा गर्न सघाएका छौं । त्यसले यो पुण्यको काम पनि हो भन्ने हामीले ठानेका छौं।’

पुर्वी पहाडी जिल्ला तेह्रथुमदेखि भारतको आसाम हुँदै पुनः नेपालको झापा आएर संघर्ष गर्ने परिवारमा जन्मेर पनि मिराले भने आफ्नो अध्ययनलाई काठमाडौंमै बसेर पूरा गर्ने अवसर पाइन् । तर, सुरुमा आफ्नो शैक्षिक योग्यताको लागि अध्ययन, त्यसपछि केही वर्ष अनुभवको लागि जागिर र २० वर्षदेखि आफैं शैक्षिक क्षेत्र हाँक्ने मुख्य जिम्मेवारीमा रहेका कारण मिराले जिवनका अन्य खुशीहरुलाई पनि विद्यालयकै शैक्षिक गुणस्तर उकास्‍ने काममा नै प्रयोग गरिन् । अर्थात उनले घरपरिवार र विद्यालय बाहेक आफ्नो जिवनमा अरु पनि खुशीका अवसरहरु हुन्छन् र थिए भन्ने समेत बिर्सिदिइन् । हालसम्म विवाह समेत नगरी उनले एकल रुपमा आफ्ना सबै खुशीहरुलाई विद्यालय परिवार र विद्यार्थी तथा अभिभावकमा समर्पित गर्दै आइरहेकी छिन् । ‘मेरो सबै खुशी यहीँ छ’, विद्यालय र विद्यार्थीतर्फ संकेत गर्दै मिरा भन्छिन्- ‘मैले यो २० बर्षमा धेरै कुरा सिकेको छु र त्यो सबै यहीँ लगानी गरेको छु।’

कतिपय अवस्थामा आफ्ना विद्यार्थीले उत्कृष्ट नतिजा नल्याउँदा भने उनलाई मन दुख्‍ने पनि गरेको छ। ‘विद्यार्थीको सफलता र उज्ज्वल भविष्यका लागि आफुहरु दिनरात खट्दा पनि सोचे जस्तो रिजल्ट आएन भने मन दुख्ने रहेछ’, उनले भनिन्- ‘पछिल्लो समय परिवारले थोरै सन्तान जन्माउने र धेरै माया दिने अनि आफ्ना बच्चाले जे माग्यो त्यो अविभावकले किनिदिने कुराले र सामाजिक संजाल तथा ग्याजेटले पनि विद्यार्थीलाई अल्छी बनाएको हो कि जस्तो लाग्दैछ।’

हाल विद्यालयको सहायक प्रिन्सिपल बाहेक उनी निजि तथा आवासीय विद्यालय संगठन (प्याब्सक) काठमाडौंको उपाध्यक्ष, शैक्षिक महिला सञ्‍जाल लगायत विभिन्न सामाजिक संस्थामा आबद्ध छिन् । नेपाली साहित्यमा समेत चासो राख्दै आएकी मिरा सिलवाललाई शिक्षामा जस्तै कविता तथा साहित्यिक लेखहरुमा समेत रुचि छ ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय