विश्वकप छनौटमा नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

काठमाडौं, ७ असार । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले आज विश्वकप विजेता वेस्टइन्डिजसँग प्रतिस्पर्धा गर्दै छ ।
चारपटकको विश्वकप विजेता वेस्टइन्डिजसँगको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा सुरु हुने छ ।
नेपाली टोलीले क्रिकेट इतिहासमा पहिलोपटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो । ओडीआई वरीयतामा वेस्टइन्डिज १०औं र नेपाल १४औं स्थानमा छन्।
नेपालले पहिलो खेलमा जिम्बावेसँग हार व्यहोरेको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो । वेस्ट इन्डिजले पहिलो खेलमा अमेरिकालाई हराएर दोस्रो खेल आज खेल्दै छ ।
विश्व स्तरीय खेलाडीले भरिएको वेस्ट इनडिजलाई हराएर नेपालले सनसनी मच्चाउने धुनमा हुने छ । यद्यपि त्यो सजिलो भने हुने छैन ।

