काँग्रेस नेता सुवेदीले पार्टी छाडे

काठमाडौं, ६ असार । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवं युवा नेता कुमार राज सुवेदीले पार्टी परित्याग गरेका छन् ।

गोकर्णेश्वर नगरपालिका-५ का स्थानीय सुवेदीले मंगलवार आफ्नै फेसबुक पेजमा लेख्दै भनेका छन्-‘महाधिवेशन प्रतिनिधिको जिम्मेवारी,कृयाशिल सदस्य र साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गर्दछु।’

विगत ३५ वर्षदेखि पार्टीमा आबद्ध सुवेदीले आगामी दिनहरुमा नयाँ राजनितिक अभियानमा नयाँ जागरण ल्याउने गरि आजसम्म प्राप्त राजनितिक अनुभव,योग्यता तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ/संस्थामा रहेर प्राप्त गरेको अनुभव र क्षमतालाई पुँजीको रुपमा आफ्नो गोकर्णेश्वर नगरपालिका र नगरवासीको समुन्नती तथा देश र जनताका हितमा समर्पित गरी सकेको योगदान गर्नेछु भनेका छन् ।

हेरौं सुवेदीको विचार:

पार्टी परित्याग गरेको सम्बन्धमा।
समुन्नत नेपाल र नेपालीहरुको गुणस्तरीय जीवनको पक्षमा सकेको योगदान गर्ने उद्देश्य लिएर एकदलीय पंचायती व्यवस्था परिवर्तन गरी बहुदलीय प्रजातान्त्रिक व्यवस्था पुनर्स्थापनाको लागि सुरु गरिएको आन्दोलनमा म २०४५-२०४६ साल देखि नेपाल विद्यार्थी संघ हुदैं नेपाली कांग्रेसको सदस्यता लिएर सकृय राजनितिमा होमिएको थिएँ।
विपि कोइरालाको समाजवादी विचार तथा २०४६ सालका जन-अन्दोलनका कमाण्डर गणेशमान सिंह तथा सन्त नेता पूर्व प्रधानमंत्री कृष्ण प्रसाद भट्टराईको त्याग,निष्ठा र ईंमानको राजनितिबाट प्रभावित भएर नेपाल कांग्रेस रोजेको थिएँ। तर बिडम्बना उनै आदर्श पुरुषहरु नै पार्टीमा टिक्न सक्नु भएन। गणेशमान सिंहज्युले पार्टीमा बिचलन र अपमान सहन नसकेर बिद्रोह गर्दै पार्टी परित्याग गर्नुभयो। सन्त नेता कृष्णप्रसाद भट्टराईले आफ्नै पार्टी भित्रबाट भएको अन्तरघात र पार्टीको बिचलन सहन नसकेर पार्टी परित्याग गर्नुभयो।
पार्टीमा जनताले सोचेको जस्तो परिवर्तन र समयसापेक्ष नेतृत्वका लागि रुपान्तरण होला भन्ने आसमा बिभिन्न आरोह-अवरोह देख्दै र भोग्दै करिब ३५ बर्ष अनवरत देशका राजनीतिक घटनाक्रम,परिवर्तन र आन्दोलनहरुमा सकृय योगदान गरी प्राप्त जिम्मेवारीहरु ईमान्दारीपूर्वक निर्वाह गर्दै आएको छु।
हाल म गत १४ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि छु।
हाल सम्म आउन र क्षेत्रीय प्रतिनिधि,महाधिवेशन प्रतिनिधि निर्वाचित हुन र परिवर्तन पक्षधर जिल्ला सचिव उम्मेदवार हूँदै गर्दा अमुल्य मतदान गर्ने,नैतिक साथ र समर्थन गर्नुहुने सबैमा हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्दछु।
हालसम्म कांग्रेसले व्यवस्था परिवर्तनमा नेतृत्व गरे पनि अवस्था परिवर्तनमा नेतृत्व दिन सकेन। जनताका छोराछोरीले स्वदेशमा रोजीरोटी व्यवस्था गर्न नसकेर रोजगारी खोज्दै परिवार छाडेर बिदेशीनु परेको छ। स्वदेशमा रहनेहरुलाई पनि गरिखाने वातावरण छैन। जनताले पठाएको बिप्रेषणको पैसाले देशको अर्थतन्त्र धानेको छ।
अधिकतर नेताहरु भ्रष्टाचारमा डुबेका छन। पुराना,बिचार सुन्य,योजनाबिहिन अकर्मण्य नेताहरुले बारम्बार अवसर लुटिरहेका छन्।
योग्य र ईमान्दारहरुले अवसर लिने अवस्था छैन। पार्टीको टिकट किनबेच,अवसरमा आफ्नालाई र सौदाबाजिमा लेनदेन भइरहेको अवस्था छ।
तसर्थ आज मिती २०८० साल असार ५ गते देखि महाधिवेशन प्रतिनिधिको जिम्मेवारी,कृयाशिल सदस्य र साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गर्दछु।
साथै आगामी दिनहरुमा नयाँ राजनितिक अभियानमा नयाँ जागरण ल्याउने गरि आजसम्म प्राप्त राजनितिक अनुभव,योग्यता तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ/संस्थामा रहेर प्राप्त गरेको अनुभव र क्षमतालाई पुँजीको रुपमा आफ्नो गोकर्णेश्वर नगरपालिका र नगरवासीको समुन्नती तथा देश र जनताका हितमा समर्पित गरी सकेको योगदान गर्नेछु।
सदाझैं न्यायप्रेमी,लोकतन्त्रवादी,देशप्रेमी र नवपरिरिवर्तनकामी आदरणीय महानुभावहरुको साथ र सहयोगको निमित्त हार्दिक अपिल गर्दछु।
जय नेपाल । जय गोकर्णेश्वर नगरवासी।
कुमार राज सुवेदी
गोनपा-५,जोरपाटी,काठमाण्डौं।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय