विश्‍वकप छनौटमा आज समूह ‘बी’ का दुई खेल हुँदै

काठमाडौं, ४ असार । जिम्बावेमा आइतबारदेखि सुरु भएको आइसिसी विश्‍वकप क्रिकेट छनौट प्रतियोगितामा आज पनि दुई खेल हुँदै छन् ।

आज समूह बी का खेलहरु हुने छन् जसअन्तर्गत युएई र श्रीलङ्का तथा आयरल्यान्ड र ओमान आमनेसामने हुँदै छन् । दुवै खेल दिउँसो पौने १ बजेदेखि बुलावायोमा सुरु हुने छ ।

युएईले श्रीलंकालाई हराएर सुपर सिक्सको यात्रा सहज बनाउन चाहन्छ भने विश्‍वस्तरीय अनुभवी खेलाडी भएको श्रीलंका युएईलाई हराउँदै एसोसियट राष्ट्रमाथिको दबदबा कायम राख्‍न चाहन्छ ।

युएईका तर्फबाट मोहम्मद वासिम, वृत्या अरविन्द रोहन मुस्तफा र आयान अफजल खानले राम्रो प्रदर्शन गर्नु पर्ने छ । श्रीलंकाका धनन्जय डा सिल्भा, दसुन शनका, वानिन्दु हसरङ्गा, महेश थिक्सना, मथिसा पथिरानालगायत सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सक्छन् ।

त्यसैगरी अर्को खेलमा एसोसियट राष्ट्र ओमानले आयरल्यान्डलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ भने आयरल्यान्ड पनि जीत निकाल्दै सुपर सिक्सको सम्भावना बलियो बनाउन चाहन्छ ।

आयरल्यान्डका ह्यारी टेक्टर, एन्ड्रयु बालबिर्ने, पल स्टर्लिङ, जोसुवा लिटिल र मार्क अडेयरबाट राम्रो प्रदर्शनको अपेक्षा गर्न सकिन्छ । त्यसैगरी ओमानका कप्तान जिशान मकसुद र उपकप्तान आकिब इल्यास राम्रो अलराउन्डरका रुपमा छन् भने बिलाल खान र कलिमुल्लाहको बलिङ घातक बन्‍न सक्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय