नेपाली कांग्रेस नेताको होइन जनताको पार्टी हो…
नानु दाहालदेशमा राणा, पन्चायत र राजा विरुद्ध लड्ने पार्टी नेपाली कांग्रेस मात्रै हो। २००४ सालमा औपचारिक रुपमा पार्टी घोषणा हुनु अगाडी नै नेपाली कांग्रेसका नेताहरु निरंकुश राणा शासनका विरुद्धमा थिए । राणाहरुको जहाँनीया शासनका विरुद्ध आवाज बुलन्द गर्न र देशमा प्रजातन्त्र ल्याउनकै लागि २००४ सालमा कांग्रेस जन्मिएको हो ।
कांग्रेसको उदय नै राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि थियो भन्ने कुरा राणा विरोधी आन्दोलन र ३० वर्षे पन्चायतका विरुद्ध भएका संघर्ष र परिवर्तनको आन्दोलनको अगुवाई गरेको कुराले नै पुष्टि गर्दछ । त्यसमाथि तत्कालीन राजा महेन्द्रले जननिर्वाचित वीपी कोइराला नेतृत्वको सरकारलाई ‘कु’ गर्दै ०१७ सालमा पन्चायतको शुरूवात गरेदेखि कांग्रेस नेताहरूले आफुलाई झन् बढी जिम्मेवार भएर खोसिएको प्रजातन्त्र फिर्ता ल्याउन संघर्षमा होमिनु पर्यो । ३० वर्ष शासन गरेको निरंकुश पन्चायतको दमनमा परेर कैयौं कांग्रेसका नेताकार्यकर्ताले ज्यान गुमाउनुपर्यो। त्यो समयमा कांग्रेसले भुमिगत रुपमा कयौं आन्दोलनको नेतृत्व समेत गरेको थियो। ०३६ सालको जनमत संग्रह र ०४६ को ऐतिहासिक जनआन्दोलनको नेतृत्व पनि कांग्रेसले नै गर्नुपरेको कुरा छर्लङ्ग छ।
जब ०४६ को ऐतिहासिक जनआन्दोलन सफल भएर देशमा प्रजातन्त्रको उदय भयो त्यो बेलादेखि आजसम्म कांग्रेसले सत्तामा रहेर वा नरहेर पनि आफुलाई जिम्मेवार दलको रुपमा प्रस्तुत गर्दै आइरहेकै छ। जब देश र बहुदलीय प्रजातन्त्रमा संकट आउँछ अनि कसैले चाहेर वा नचाहेर कांग्रेसले नै त्यसको नेतृत्व लिएर समस्या र चुनौतीलाई पन्छाउने गरेको तथ्य पनि हामी सामु छ ।
२००७ सालमा प्रजातन्त्रको उदय र २०१५ सालको आम निर्वाचनमा कांग्रेसले खेलेको भुमिकालाई कसैले पनि नजर अन्दाज गर्न मिल्दैन । त्यसपछि ०१७ सालको ‘कु’ पछि जनतासंगै हिंडेको कांग्रेसले मेलमिलाप निति हुँदै ०३६ सालको जनमत संग्रहमा समेत मुख्य भुमिका खेल्यो । जसको जगबाट नै ०४६ सालमा ऐतिहासिक जनआन्दोलन सफल भएर बहुदलीय ब्यबस्था र प्रजातन्त्रको उदय भयो ।
देशको हरेक समस्यामा जनतासंग हुने नेपाली कांग्रेस ०४८ को आमनिर्वाचनमा एकल बहुमत ल्याएर सरकारको नेतृत्वमा पुगे पनि आफ्नै कारण बिचैमा मध्यावधि निर्वाचनमा जाने अवस्था आयो। खासगरी यसमा कार्यकर्ता र आम जनताको भावना बिपरित नेतृत्व तहमा भएको असमझदारी मुख्य कारण बन्यो। महामानव वीपी कोइरालाले देखेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सपनालाई हामीले पूरा गर्ने अठोट लिएर पनि नेतृत्व तहमा बढेको असमझदारी र बेमेलको कारण कांग्रेस कमजोर बन्ने र अरुले फाइदा लिने अवस्था आयो ।

पार्टी भित्र देखिएको आन्तरिक लडाइँले पार्टी कार्यकर्ता र जनतामा नकारात्मक भाव पैदा गराउने सम्मको अवस्था पनि कहिलेकाही आउने गर्दछ। नेतृत्वमा रहेका सबै अग्रज नेताको चिन्ता र चासो कांग्रेसलाई बलियो कसरी बनाउने ? भन्ने नै होला । तर, पद र शक्तिका लागि कहिलेकाहीँ नेतृत्वले सहि निर्णय लिन नसक्दा कार्यकर्तामा नैराश्यता र जनतामा चिन्ता हुनु स्वभाविक हो। अहिलेपनी जनताको रोजाइ लोकतन्त्र नै हो। जनताको चाहना कांग्रेस नै हो । कांग्रेसले कहिलेकाहीँ गलत निर्णय लियो भनेपनी जनताले खबरदारी गरिरहेका हुन्छन् ।
नयाँ पुराना राजनीतिक दल मात्रै होइन तराई मधेसमा क्षेत्रीय पार्टीहरु समेत उदाएको बेला कांग्रेसले आफुलाइ अझै अब्बल र बलियो शक्तिको रुपमा उभ्याइरहन चुनौती छ। सबैको प्रहार अहिले कांग्रेस माथी छ। यस्तो बेलामा पार्टी सभापति लगायत उपसभापतिहरु, महामन्त्रीहरु र पदाधिकारी मात्रै होइन सिङ्गो पार्टी नै जनताको पक्षमा,लोकतन्त्रको पक्षमा र बिकासको पक्षमा छ भन्ने कुराको ग्यारेन्टी कांग्रेसले जनतालाई दिनुपर्नेछ ।
यसर्थ, पार्टीमा केही असमझदारी वा खटपट भएपनी त्यसलाई पार्टीका बैठकबाट हल गर्नु बुद्धिमानी हुनेछ। पार्टी नेतृत्व नै विभाजित छ वा अग्रजहरु बिचमा बोलचाल र भेटघाट समेत हुँदैन भने त्यसले आम नेताकार्यकर्तामा नैराश्यता पैदा गर्दछ। पार्टी हितमा भन्दा पार्टी नेतृत्व र पार्टीका पदाधिकारीका विरुद्ध कार्यकर्ता तहमै आरोप प्रत्यारोप हुन थाल्यो भने यसले पार्टीलाई कमजोर बनाउन सक्छ । कांग्रेस कमजोर हुनु भनेको समग्र लोकतन्त्रको जग कमजोर हुनु हो। जब लोकतन्त्र कमजोर हुन्छ अनि अन्य शक्तिहरु सल्बलाउन थाल्नेछन् ।
जसले गर्दा जनताले लडेर ल्याएको यो परिवर्तनका सबै उपलब्धिहरु कमजोर हुँदै जानेछ। त्यसैले कांग्रेसलाई जनताको पार्टी बनाउन हामी सबै हातेमालो गर्दै अगाडी बढौ,कहिँ कतै कमजोरी भएको छ भने यसलाई रुपान्तरण गरौं र गणतन्त्रलाई बलियो बनाऔं,लोकतन्त्रलाई अझै उन्नत लोकतन्त्रको रुपमा अगाडी बढाऔं । जय नेपाल !!!
(लेखक नेपाली काँग्रेस बागमती प्रदेश समिति सदस्य हुन्)

