नेपालमा मनसुन भित्रियो, केही दिनमा देशभर सक्रिय हुने

काठमाडौं, ३१ जेठ । नेपालमा वर्षा गराउने प्रणाली अर्थात् मनसुन भित्रिएको छ । सरदरको मितिभन्दा एक दिन ढिला गरी मनसुन भित्रिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले विशेष बुलेटिन जारी गर्दै मनसुन भित्रिएको जनाएको हो । हाल मनसुन नेपालको पूर्वी तथा मध्य भूभागमा र गण्डकी भूभागमा आगमन भएर सक्रिय हुने क्रममा रहेको जनाइएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा एक दिन ढिला गरी नेपालमा प्रवेश गरेको हो । नेपालको अन्य भू-भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने देखिएको छ ।
यस वर्षको मनसुनमा विपदबाट करिब १२ लाख ५० हजार व्यक्ति प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

