बजेटले नेपाल र नेपालीको प्रतिनिधित्व गर्न सकेन: ओली

काठमाडौं, २३ जेठ । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रस्तुत भएको बजेटले आम रुपमा नेपाल र नेपालीको प्रतिनिधित्व गर्न नसकेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा करिब दुई घण्टा बोलेका ओलीले सरकारले अघि सारेको आगामी वर्षको बजेटमाथि टिप्पणी गर्दै राष्ट्रको हित, विकास निर्माण र समृद्धि, रोडम्याप प्रस्ताव गर्ने कुरामा बजेट चुकेको बताए ।
राष्ट्रमा उत्साहको लहर पैदा गर्ने कार्ययोजना नआएको औंल्याउँदै उनले भने, ‘कुनै प्रयासबिना संकलन हुन सक्ने राजस्व विगतदेखि कार्यान्वयनमा आएका केही अयाोजना पूर्वाग्रह राखेर, कुनै लक्ष्य, नतिजा, निर्धारण नगरिकन, अलिअलि रकम छ्यास्सछुस्स मुख बुजो लगाउन खोजेको छ। सम्पूर्ण नेपाली र नेपाल राष्ट्रको हित, विकास निर्माण र समृद्धि, रोडम्यापमा बजेट प्रस्ताव गर्न बजेट चुकेको छ ।’
समृष्टिगत आर्थिक स्थायित्व कायम गर्ने उच्चदरको आर्थिक विकास हासिल गर्ने, व्यापक रूपमा रोजगारीको अवसर सिर्जना गर्ने, राष्ट्रिय बचतको वृद्धि गर्ने, आन्तरिक र बाह्य लगानीलाई आकर्षित गर्ने, मूल्य नियन्त्रण गर्ने, चालू खाता घाटा गर्ने, नेपाली अर्थतन्त्रलाई प्रभावकारी र दक्ष बनाउन बजेटले नसकेको उनले बताएका हुन् ।
आफू नेतृत्वको सरकार हुँदा अर्थतन्त्र उकालो लाग्दै गएको अन्तर्राष्ट्रिय क्षेत्रले उल्लेख गरेको बताउँदै उनले पछिल्ला वर्षमा अर्थतन्त्र ओरालो लाग्दै गएको बताए ।

