सुनकोशीमा बेपत्ता कर्मचारीको अवस्था अझै अज्ञात

काठमाडौं, २३ जेठ । सुनकोशी नदीमा सिटिइभिटीका कर्मचारी सवार जीप खस्दा बेपत्ता भएका तीनजनाको अझै खोजी जारी छ । घटना भएको पाँचौँ दिनसम्म ती अधिकारीहरूको अवस्था अज्ञात नै रहेको छ ।
काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सीटिईभिटीका दुई निर्देशक र अधिकृत सवार बा. १ झ ७४६७ नम्बरको जीप गत शुक्रबार सडकबाट करिब १५० मिटर तल सुनकोशीमा खसेको थियो ।
जीपमा ४ जना सवार रहेकोमा चालक कृष्ण चौधरी भने पौडेर निस्कन सफल भएका थिए । सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थानसमेत चारवटा टोलीले शुक्रबारदेखि खोजी निरन्तर गरिरहेको भएपनि केही पत्ता लाग्न सकेको छैन ।

