दरबार हत्याकाण्डका प्रत्यक्षदर्शी, जसले सिंहदरबारमा आत्महत्या गरे
राजा वीरेन्द्र सहित उनको वंशनाश हुने गरी २०५८ जेठ १९ मा भएको राजदरबार हत्याकाण्डका प्रत्यक्षदर्शीमध्येका एक थिए बच्चुराम केसी । जसले २०७६ सालमा विष सेवन गरी सिंहदरबारमा आत्महत्या गरेका थिए।
राजप्रसाद सेवा अन्तर्गत दरवारमा रहेका उनी गणतन्त्रपछि परराष्ट्र मन्त्रालय हुँदै राष्ट्रिय योजना आयोगमा सुब्बा तहमा कार्यरत थिए । राजदरबार हत्याकाण्डका वेला केसी युवराज दीपेन्द्रको बासस्थानका रूपमा रहेको त्रिभुवन सदनमा सुब्बा पदमा कार्यरत थिए । उनको जिम्मेवारी भान्सेका रूपमा रहेको थियो ।
दरबार हत्याकाण्डका दिन त्रिभुवन सदनको बिलियार्ड हलमा लगिएको खाना उनीलगायतको टोलीले तयार पारेको थियो । तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित उच्चस्तरीय छानविन समितिका सदस्य तत्कालीन सभामुख तारानाथ रानाभाटले दरबार हत्याकाण्डसम्बन्धी प्रतिवेदन तयार पार्ने क्रममा केसीसँग लिएको बयान हेरौं :
यहाँको नाम के हो ? मेरो नाम बच्चुराम केसी हो, म त्रिभुवन सदनमा काम गर्छु ।
त्यहाँ काम गरेको कति वर्ष भयो ? त्यहाँ काम गरेको पाँच वर्ष भयो । दरबार छिरेको नौ वर्ष भयो ।
जुन घटना घट्यो, त्यसवेला तपाईंलाई कुन काममा खटाइएको थियो ? ज्यूनार तयार गर्ने काममा ।
तपाईंलाई सम्झना भएसम्म त्यस दिनको घटनामा के–के भयो ? बताउनुस । सबैभन्दा पहिला युवराजधिराज सवारी होइबक्सेको थियो बैठकमा । त्यसपछि महेशकुमार सिंह साहेबज्यू सवारी भयो । त्यसपछि अरू साहेबज्यू सवारी होइबक्स्यो । घटना घट्नुभन्दा दुई मिनेटअघि म कोल्डड्रिंक्स लिएर गएको थिएँ । त्यहाँबाट फर्केर अलि वर बैठकको ढोकाको १० मिटरजति उत्तर साइडमा पुग्दा युवराज सरकार आर्मीको चुस्ता ड्रेसमा सवारी होइबक्स्यो । अगाडि गन भिरिबक्सेको थियो । त्यसबेलासम्म मैले उभिएर हेरिरहेको थिएँ । कतै सवारी हुन लाग्यो भन्ठानेँ मैले । त्यसपछि ढोकाबाट छिर्नेबित्तिकै फायरिङ सुरु गरिबक्स्यो । त्यसपछि मलाई डर लाग्यो । मेरा मुटु काम्यो । म बाहिर भागेँ ।
अरू कुरा केही देख्नुभएन ? अरु केही पनि थाहा छैन ।
युवराजलाई तपाईंले देख्दा हतियारसहित नै देख्नुभएको थियो ? कतिवटा हतियार थिए ? दुईवटा त हातमा तेर्स्याएको देखेको थिएँ । एउटा टल थियो, अर्को अलिकति सानो थियाे ।
दुईवटा उस्तै–उस्तै साइजको झुन्ड्याएको देख्नुभयो कि कस्तो थियो ? एउटा हातमा थियो । अर्को झोलिएको थियो ।
पोजिसन कस्तो थियो ? अलि डरलाग्दो पोजिसनमा होइबक्सन्थ्यो ।
कस्तो हाउभाउ देखाउँदै आउनुभएको थियो ? होइन, उभिएरै आउनुभएको थियो ।

युवराजलाई ढोकाबाट छिर्ने वेलामा मात्रै देखेको कि अलि अगाडिदेखि नै देखेको ? अलि अगाडि बगैँचादेखि नै देखेको हुँ । चन्द्रमा बत्तिवाल खुला ठाउँ छ । त्यहाँबाट खुला देखिन्छ । अलिकति देखिन्छ । अनि त्यसपछि प्यासेलबाट देखिन्छ ।
भित्र छिरेको मात्र देखेको कि बाहिर निस्केको पनि देखेको हो ? भित्र छिर्ने बित्तिकै फायरिङ शुरु भयो । त्यसपछि म भागिहालेँ । त्यसपछि म त्यहाँ आउँदै आइनँ ।
फायरिङ कसलाई भएको देख्नुभयो ? त्यहाँबाट भित्र देखिँदैन । म बसेको ठाउँबाट फायरिङ भएको मात्र देखिन्थ्यो । कसमाथि फयरिङ भयो देखिएन । मलाई सानु प्रभूले (निराजन साहेव)ले कोल्ड ड्रिंक्स ल्याऊ भन्ने हुकुम भएकोले कोल्ड ड्रिंक्स लिएर गएको थिएँ ।
तपाई २ मिनेटअघि कोल्ड ड्रिंक्स लिएर जाँदा महाराजधिराज सरकार कहाँ होइबक्सन्थ्यो ? बिलियार्डकै असपासमा होइबक्सन्थ्यो । म त्यहाँ डाइरेक्ट गएँ । कोल्ड ड्रिक्स त्यहाँ राखे । त्यहाँ बस्नु थिएन । त्यस्तो आवश्यक परेमा घण्टी बजाइबक्सन्थ्यो वा कहिलेकाहिँ अफैँ किचेनमा सवारी होइबक्सन्थ्यो । यो चीज लेऊ भन्ने हुकुम हुन्छ । त्यहीअनुसार जान्छौं । त्यहाँ कुनै फिर्ता ल्याउनुपर्ने चीज भए ल्याउँछौं, फर्कन्छौं ।
तपाईलाई थाहा छ ? त्यहाँ कुन समयमा जानुभएको थियो ? मैले घडी त हेरिनँ । तर अन्दाजी त्यही ९ बजेको थियो की जस्तो लाग्छ । त्यसबेला हामी ३ जनामात्र थियौं काम गर्ने । तीन जनाले सबै भ्याउनुपर्ने हुन्छ । टेन्सन हुन्छ । त्यसैले ओहोरदोहोर गरिराख्नु पर्ने हुन्छ । समय हेर्न मौकासमेत मिल्दैन ।

