पारस भन्छन्- दीपेन्द्रले M-16 बाट ठूलोबुबाको माथमा हानिबक्स्यो…
३० सेकेन्डभित्र सबै तहसनहस...२२ वर्ष अघि २०५८ जेठ १९ गतेको दरबार हत्याकाण्डका बारेमा अझै सत्यतथ्य बाहिर आउन सकेको छैन । हत्याकाण्डपछि सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ समितिले तयार पारेको प्रतिवेदनमा तत्कालीन युवराज दीपेन्द्र विर विक्रम शाहले नै हत्याकाण्ड घटाएको भनिएको छ । तर,जनताले अन्यलाई दोषी देखाउन खोजेका छन् ।
त्यही हत्याकाण्ड पछि देशमा २४० वर्ष चलेको शाहवंशको राजगद्दी ढलेको हो । त्यस घटनामा जनताले तथ्य बिनाको आरोप लगाउने गरेका एकजना तत्कालीन शाहज्यादा पारस शाहले दिएको बयानको केही अंश भने यस्तो छ:
पारस शाह: हामी बस्ने कुना त्यही हो । हामी Young हरूको, अब त्यहाँ उताबाट चुरोटसुरोट समाएको नदेखियोस् भनेर त्यो कुनामा हामी धेरैजस्तो बस्ने गरेको त्यही कुनामा हो । अनि त्यहाँ मैले सवारी भएको कोही देखेको थिइनँ, मैले सवारी भएको भनेको थाहा पाएको पहिलो बन्दुक पड्केपछि थाहा पाएँ । गड्याङ्ग गर्यो, त्यत्ति ३ राउण्ड जति फायर भएको छ ।
पहिले सवारी हुनेबित्तिकै ३ फायर भएको छ । एउटा माथि छ, एउटा सिधा छ । त्यसरी दागिबक्सँदाखेरि एउटा सिधै गएको छ, एउटा माथि गएको छ । ३ राउण्डजस्तो लाग्छ, मलाई जहाँसम्म लाग्छ । अब त्यस्तो हुँदाखेरि ३ राउण्डजस्तो लाग्छ First मै त्यो पनि आवाज । महाराजाधिराजले के गरेको मात्र हुकुम भएको थियो, ड्याङ्ग ड्याङ्ग एउटा यस्तोमा एउटा यस्तोमा । महाराजाधिराज ढलिबक्स्यो । म र डाक्टर राजीव सँगसँगै दुई जना कुदेर गयौँ ।
डा. राजीवचाहिँ महाराजाधिराज भएको ठाउँमा कुद्न भ्यायो हजुर, मलाई चाहिँ अधिराजकुमारी शोभाले जानै दिबक्सेन, तिमी त्यहीँ बस हिँड्ने होइन, हुकुम भयो । त्यही नै मैले पछाडि फर्केर बहिनीहरू सबै जनालाई ढल्नलाई सुत तिमीहरू यहाँ भनेँ । यहाँ वाङ्ग वाङ्ग पड्कन थालिसक्यो, सबै जना सुत भनेर त्यो लाइन क्रोसियरमा सबै जनालाई राखेँ । उता दुई जना सिनियर मेम्बरहरू पनि महेशकुमार र रविशमशेर दुवै जना पनि मेरै छेउमा थिए । दुवै जनालाई पनि मैले लाइन क्रोसियरमा राखेँ । यत्तिमै यत्ति हुँदाहुँदै युवराजाधिराज सरकार फेरि फर्केर सवारी भयो ।
मैले देखेको चाहिँ हजुर, महाराजाधिराजलाई हानिबक्सेको देखेँ । धीरेन्द्र सरकारलाई हानिबक्सेको देखेँ, बाबा enough, you done enough damage भनेर second time फर्केर जाँदाखेरि, धीरेन्द्र सरकारले के हुकम भयो भने you done damage हुकुम भयो । त्यति हुकुम हुँदाखेरि ड्याङ्ग ड्याङ्ग अर्को एउटा यस्तोमा लागेको छ । एउटा हो कि दुइटा त्यो पनि धीरेन्द्र सरकारलाई राम्रोसँग सम्झन सकेको छैन, धीरेन्द्र सरकार ढलिबक्स्यो, ढलिबक्सेबित्तिकै त त्यसपछि त अरुहरू मान्छेहरू त one after another को ढल्यो को ढल्यो । त्यसपछि राम्रोसँग भन्न सक्दिनँ ।
म पछाडि फर्केर बहिनीहरुलाई जोगाउन भूँइमा सुताउन थालिसकेको थिएँ, अ……मैले ढलिबक्सेको देखेको महाराजाधिराज ढलिबक्सेको देखेँ यता, कुमार खड्ग ढलिबक्सेको थियो, उता कुमार गोरख ढलेको देखेँ । त्योचाहिँ first मै ठूलो बुबा सँगसँगै तीन जना ढलेका छन् । त्यो First Automatic weapon MP-5 को फायरले ३ जना ढलेका छन् । बाहिर सवारी भयो, फेरि फर्केर सवारी भयो, त्यसपछि त्यो सानो weapon MP-5 automatic त्यो फालिबक्स्यो, त्यो weapon महाराजाधिराज सरकारले टिपिबक्स्यो । त्यो weapon टिपिबक्सेको थियो । अधिराजकुमारी शोभा सवारी भएर त्यो weapon लिइबक्स्यो, म्यागजिन पनि झिकिबक्स्यो । त्यही भुईंमा राख्दिबक्स्यो त्यो ।
अब के भन्ठानिबक्स्यो भने त्यही एउटा मात्र होला भन्ठानिबक्सेछ । दाइले चाहिँ अरु पनि बोकिबक्सेको मैले पनि देखेको हो । अरु तीनवटा बोकिबक्सेको थियो, चारवटा थियो weapon | एउटाचाहिँ बन्दुक left side मा थियो hand gun. Hand gun चाहिँ Left side मा थियो । दाहिने वगलीमा: MP-5 थियो । भिरिबक्सेको shot gun र एम १६, त्यो Automatic हो । भ्यार्र गरेर ठूलो बुबालाई हानिबक्स्यो, कान्छो बुबालाई पनि हानिबक्स्यो, यता खड्गविक्रम ढलिबक्स्यो, उता गोरख ढल्यो । त्यो first attack मै कताकता दागेर बाहिर सवारी भयो । त्यसछि हामी त कुनामै थियौँ । बाहिरपट्टि के भयो, मैले त देखिनँ । फेरि भित्र सवारी भयो । सवारी भएर ठूलो बुबालाई….।
समितिः समयको त्यस्तो कुनै लामो ग्याप त थिएन ?
पारसः छैन, एक मिनेट पनि छैन, ३० सेकेण्ड होला म्याक्सिमम, म्याक्सिमम भए ३० सेकेण्ड, भित्रबाहिर भित्रबाहिर गरिबक्स्यो । सवारी भयो, ठूलोचाहिँ बन्दुक एम १६, एम १६ ले पहिले नै ठूलो बुबाको माथमा हानिबक्स्यो, त्यसपछि यता सवारी भयो, खड्ग फुपाजु ढलिबक्स्यो, कुमार खड्ग त्यो बारको ठ्याक्कै तल ढलिबक्स्यो । हजुर, उतापट्टि गोरख, ठूलो बुबा बीचमा बिलियार्ड बोर्डको तल गोरख ढलिराखेको थियो, श्रुति, त्यसपछि श्रुति मैले आएको देखिनँ, गोरखलाई गएर बाबा तिमीलाई पनि लाग्यो भनेको देखेँ । त्यो गएको बेलामा उताबाट फर्किबक्स्यो, युवराजाधिराज सवारी भयो, यतापट्टि ढलिराखेको थियो हजुर, पहिला कुमार खड्ग ढलेकोमा अधिराजकुमारी शारदा सवारी भो । तिमीलाई के भयो, तिमीलाई के भयो भनेर सवारी भई माथिपट्टि सुतिबक्स्यो, खड्ग फुपाज्यूको माथि ढलेर कभर गरिबक्स्यो ।
युवराजाधिराज सवारी भयो, ड्याङ्ग ड्याङ्ग (Point Blank) ड्याङ्ग ड्याङ्ग ड्याङ्ग, यस्तो घारीबाट देखेको त्यही देखेको । त्यो भएको म यताको कुनाको मेचमा त्यो बारको मुनिबाट त्योचाहिँ राम्रोसँग देखेको हो मैले । ड्याङ्ग हानिबक्स्यो । त्यो गोली आएर यतापट्टि कार्पेटमा लागेछ । भएर आएर मेचको यतापट्टि काठमा लागेर मेरो साइडमा महेश कुमारलाई राखेको थिएँ मैले, त्यो गोली उछिट्टिएर गएर उसको यस्तोमा लागेको हो । त्योचाहिँ लागेको उसलाई । अब त्यसपछि फेरि बाहिर सवारी भएको हो कि मैले राम्रोसँग सम्झन सकिनँ, वाहिर सवारी भएको जस्तो लाग्छ । दुई/तीनचोटि गरिबक्स्यो भित्रबाहिर, Third time सवारी हुँदाचाहिँ यता… अ… शाहज्यादी जयन्ती दिदी, केतकी अ… श्रुति तीन जनालाई हानिबक्स्यो ।
Third time… अनि बाहिर सवारी भयो युवराज सरकारचाहिँ मैले त्यसपछि यता कुनामा सवारी भयो, त्यो अग्लो मेचजस्तो छ नि हजुर, त्यो कुनामा सवारी भयो, त्यसपछि डाइरेक्ट नजरमा हामी पर्यौँ… के गरिबक्स्या हजुर … हामी… के गरिबक्स्या please गई बक्स्योस् भनेर त्यो बिन्ती जाहेर गरेँ मैले । नत्र भए सबै जनालाई हानेको भए म थिएँ, महेश मेरो पछाडि थियो, रवि उतापट्टि ठ्याक्कै बारको मुनि रवि थियो । अ… महेशको पछाडि मेरो बहिनी छ । पछाडि मेरो वाइफ थियो, मेरो वाइफ पछाडि मेरो तीन जना बहिनीहरू मैले राखेको थिएँ । लुकाएर राखेको थिएँ । एउटा बहिनीचाहिँ त्यो सोफाजस्तो छ, त्यसको पछाडि राखेको थिएँ । एकदमै कभर गरेर राखेको थिएँ मैले । मैलेचाहिँ दाइसँग के गरिबक्स्या हामी यस्तो यहाँ त हामी मात्र छौँ please…. one by one सबैलाई हेरेर छोडेर बाहिर लागिबक्स्यो । त्यसपछि थाहा भयो, हामीलाई हानिबक्सेन भनेर ।

म उठेर गएँ । त्यहाँ अरु मान्छे ढलिराखेका थिए । के के भा’छ भनेर म कान्छो बुबा भएठाउँ गएँ । पारस मेरो खुट्टा चलाऊ न, मैले खुट्टै चलेन अ….. मेरा खुट्टा खुम्च्याउन सक्दिनँ, खुट्टा चलाइदेऊ । अलिकति चलाएँ, फिल गर्न सकिबक्सेन । त्यसपछि यता केटाकेटीलाई हेर भन्नुभयो, मैले त मेरो मुमा ढलेको पनि देखेको छैन । मुमा पनि देखेको छैन, यता अधिराजकुमारी शान्ति पनि देखेको छैन, उता उता बडामहारानी सरकार र निराजनको त बाहिरै कुरा भयो । मैले त्यति देखेकै छैन । अनि त्यो बेलामा हेर्दाखेरि मुमा भर्खर उठिबक्सिराथ्यो, ढलिबक्सेको । मुमा तल होइसिन्थ्यो । अधिराजकुमारी शान्ति माथि होइसिन्थ्यो । मुमाचाहिँ घँचटेर उठिबक्सेको देखेँ । मैले help गरेर उठाएँ मुमालाई । …म ठीक छैन, म ठीक छैन भन्नुभयो । माथबाट पनि रगत आइराखेको, यस्तो समातेर बसिबक्स्या’थ्यो । माथको रगतचाहिँ अधिराजकुमारी शान्तिको रहेछ । मैले त माथमा लागेछ भन्ठानेको थिएँ पहिला । अधिराजकुमारीको रगत रहेछ । त्यति गरेपछि कहाँ लागेको छ भन्दा यहाँ लागेको छ हुकुम भयो, माथ पनि चेक गरेँ मैले, केही पनि छैन ।
त्यसपछि म दौडेर गएर यता मुमा बडामहारानी सरकारकहाँ गएँ । बाहिर पनि मैले त फायरिङ सुनेको थिएँ । मैले त उता भन्ठानेँ, मुमा बडामहारानी सरकारको खोपीमा भन्ठानेँ । दौडेर त्यहाँ गएँ । त्यहाँ त केही पनि भएको छैन । त्यहाँ यस्तोयस्तो भयो भनेर जाहेर गरेँ, त्यो बेलासम्म फायरिङ सकिसकेको थियो, म जाँदा मुमा बडामहारानी सरकार…।
समितिः मुमा बडामहारानी सरकार भनेको उता सानो बैठकमा ?
पारसः उता सानो बैठक, बाहिरपट्टिको । त्यहाँ होइबक्सन्थ्यो । त्यहाँ जाँदासम्म Firing बन्द भएको थियो । जब म मान्छेहरूलाई हेर्न गएको थिएँ, त्यो बेलासम्म फायरिङ भइराखेको थियो….. बाहिर…. त्यो चौरमा फायरिङ भइराखेको थियो । लास्ट भएकै चौरमा हो । त्यसमा पनि के भयो, म केही भन्न सक्दिनँ । मैले देखेको होइन । कसलाई हानिबक्स्यो, त्यहाँ कसरी घटना भयो, त्यो पहिला कसलाई हानिबक्स्यो, पछि कसलाई हानिबक्स्यो, मलाई थाहा छैन । मैले त मुमालाई लागेको देखेको होइन, अहिले कुरा सुन्दाखेरी बाहिरबाट हानिबक्सेको, मुमालाई पछाडि दुइटा बाहिरबाट हानिबक्सेको मात्र सुनेँ । त्यो मलाई थाहा छैन । मैले नदेखेको कुरा म भन्न सक्दिनँ । मैले देखेको कुराचाहिँ यत्ति हो । म पनि त्यसपछि मान्छेहरूलाई हेरेँ, सबै जना ढलिराखेका छन् । खुट्टा चलाइदेऊ भन्नुभयो । पाउ चलाएँ, सिधै हेर्न सकिँदैन । यता केतकी फुपूलाई हेर भन्नुभयो, कान्छो बुबाले । म खुट्टा पनि चलाउन सक्दिनँ म हेल्प भन्दा धेरै त्यो जाहेर गरे । दौडेर आफूमुमाकहाँ गएँ ।
मुमाबडामहारानी सरकारकाँ तीन जना होइबक्सन्थ्यो, त्यहाँ केही पनि भएको छैन । बाहिर दौडेर एडीसीहरूलाई भित्र ल्याएँ । त्यो एडीसीहरू बाहिर गए, बाहिर जाँदाखेरि ठ्याक्क आइराखेको थियो । म बाहिर पुग्नु र एडीसीहरू आइपुग्नु almost same time थियो । अनि त्यहाँ बाहिर गएर के भने यो भित्र मरेको मान्छे पनि छ, घाइते मान्छेहरू पनि छ । मरेको मान्छेहरूलाई छाडिदेउ । घाइते मान्छेहरूलाई दौडाइहाल पहिला, भित्र लगे घाइते मान्छेहरू सबै जना पहिला उठाएर one by one सबै जनालाई जोजो पहिला गए जोजो हाल्न सकेँ पठाएथेँ, ५-६ मर्डरहरू थिए । जोजो आए हाल्दै पठाउँदै थिएँ । अब दाइ, बडामहारानी सरकार र भाइलाई भेटाउन, गएका तिमीहरू खोज भनेर तीन जना ।
दाइको एडीसी दौडेर आयो, he shot himself, he shot himself भन्दै आयो । त्यसपछि भाइ कहाँ छ भन्दा भाइलाई पनि हानिबक्स्यो भन्यो । ठूलो मुमा खोइ, ठूलो मुमालाई पनि डाउन, सबै जना डाउन, ठूलो मुमाको chance नै छैन भनेर उनीहरूले मलाई भन्यो । मैले देखेको होइन, ठूलो मुमाको चान्स छैन, दाइचाहिँ ऐया ऐया गरेर लडिबक्स्याथ्यो, माथमा लागेको थियो । ल हाल भनेर दाइ र भाइलाई चाहिँ मैले सँगै हालेर दाइको एडीसीले हाल्यो, म अगाडि बसेँ, पछाडि एक जना ड्राइभरले दाइलाई समाइरा’थ्यो र भाइलाई समातेको थियो पछाडि अर्को एक जना थियो । दुई जनाचाहिँ म र दुई जना एडीसी अर्को एक जना ड्राइभर भएर अस्पताल पुर्याको । त्यतिबेला महाराजाधिराज सरकारको सवारी चलाइसकेको थियो । सबैभन्दा पहिला त सुन्दर भन्ने एडीसी छ, त्यो गर्दा ऊ आयो, उताउताबाट घुमेर आयो, त्यहाँ त फायरिङ भइराखेको थियो । उसले अरु मान्छे ल्याउन सकेन उताबाट, बाहिर घुमेर फायरिङ भइराखेको थियो, उता ढोकाको सिसा फुटाएर मैले आऊ भन्दिएँ । यो फुटाएर भित्र आएर ठूलो बुबा महाराजाधिराज सरकारलाई लग्यो, महाराजाधिराज सरकारलाई पहिला लगेको हो ।
यो राजीव कहाँ थ्यो के थ्यो, राजीव गएको पनि देखेको छैन, हजुर, म पछाडि गर्दै थिए यता मान्छेहरू हेर्दै थिए, राजीव गएको मैले देखेको होइन, सबभन्दा पहिलाचाहिँ महाराजाधिराज सरकारलाई लिएर गएको । त्यसपछिचाहिँ म गएर मान्छेहरूलाई हेर्न गएको । एडीसीहरूलाई मैले नै बोलाएर त्यो सिसा ढोका फुटालेर महाराजाधिराज सरकारको सवारी चलाएँ । मैले देखेको त यत्ति नै हो ।
समितिः सरकारबाट कति weapon use भएको देखिबक्स्यो ?
पारसः मलाई जहाँसम्म लाग्छ एउटा M-16 युज भएको छ । Glock युज भएको छ । चारवटा युज भएको छ । मैले त्यो 12 bore फायर गरेको देखेको छैन । त्यसको फायर देखेको होइन मैले । अरुचाहिँ फायर भएको देखेको छु मैले । यो M-16 फायर भएको देखेको हुँ ।
समितिः युवराजाधिराजको कसरी ?
पारसः मैले सुनेअनुसार दाइले आफूलाई हानिबक्स्यो, ब्रिजमा हानिबक्सेको ।
समितिः यसको पछाडि के यस्तो कारण ?
पारसः यो विवाहकै हो हजुर । मलाई जहाँसम्म लाग्छ, विवाहकै हो । यो सुरु भएको पोहोर गएको जन्मोत्सवमा सुरु भएको कुरा हो । पार्टी भएपछि पार्टी भएको त्यही ठाउँमै भएको कुरा हो । त्यहीँ नै हामी आएर कुरा गर्दाखेरि जोजो against, अब भाइ र म with जहिले पनि वीथ । दाइको त हामी जेजे हुकुम हुन्छ त्यही गर्ने मान्छे । भाइ र म with थियौँ । अब राजीव त with भयो, श्रुति, गोरखहरू र अरु बहिनीहरू against थिए विवाहको विषयमा । मेन कुरा यही नै जस्तो लाग्छ । मेन कुरा यही होजस्तो लाग्छ ।
समितिः तर त्यो दिन त्यहाँ त्यो कुरा चल्यो कि चलेन ?
पारसः मसँग कुरा गरिबक्स्या छैन । मैले अघि तपाईंलाई भनेको जस्तो म जानेबित्तिकै के मर्जी भयो भने मलाई मुमासँग पनि कुरा गरेँ, आफूमुमासँग पनि कुरा गरेँ, नहुने भयो । अब म बुबासँग आइतबार दर्शन पाउँछु, त्यो बेला कुरा गर्छु, त्यत्ति मात्र हुकुम भा’थ्यो मलाई ।
समितिः राम्रो मुड थियो ?
पारसः लागेको जस्तो थियो । एकदमै राम्रो थियो मुड । त्यस्तो होला भन्ने केही सोचेकै थिएनौँ हामीले । एकदमै जोक गरिबक्सेको जस्तो सबैलाई हँसाइबक्सेको थियो, त्यहाँ तल होइबक्सँदासम्म त ।
समितिः सरकारलाई माथि कसले पुर्याएको ?
पारसः हजुर । हामी चार जनाले पुऱ्याएको । हामी चार जना, एक जनाले कहाँ सक्नु !
समिति: बोकेरै लगिबक्स्यो ?
पारसः दुई जना साइडमा म पछाडि यसरी उचालेर गोरख र भाइले अ… राजीव र भाइले दुई जना साइडमा मैले पछाडि समाएर माथि लग्यौँ । गोरख होइन, गोरख पछिपछि आउँदै थियो । माथि…।
समितिः तल सुताइबक्स्यो ?
पारसः तल, मेन गद्दीमा त सुताएनौँ । तल सुतायौँ । मैले भाइलाई भनेको वेपनहरू झिक लैजाऊ, अप्ठ्यारो हुन्छ ।
समिति: त्यो कोठाबाट ?
पारसः कोठाबाट । माथिको कोठाबाट । जुन मेन गद्दी थियो, त्यो गद्दीभन्दा तल अर्को एउटा बेड …ऊ… ग्राउण्ड बेडजस्तो त्यहाँ सुताएर हामी तल आएको ।
समितिः वेपनहरु ?
पारसः वेपन्स अब त्यो, त्यस्तो त बोकिबक्सेको छैन । एमपी ५ र मैले देखेको छैन कहाँ थियो । अ… अनि एम १६ चाहिनी त्यो तखताहरू छ नि, जानेबित्तिकै तखताहरूजस्तो छ ।
समितिः त्यसमा कार्टिजहरू पनि निस्किराखेको थियो ?
पारसः हो, त्यो तखतामा छ । त्यो होला… अँ…. बट्टाभित्रै बक्स भित्र नै थियो । त्यो तखतामा नै देखेको थिएँ मैले । त्योचाहिँ एम १६ चाहिनी । एम १६ पनि म चिन्छु हजुर, जहिले पनि चलाइबक्सिराखेको हो । अब यस्तो हुन्छ भनेर कसले भन्न सक्ला र ?
समिति: अरु सरकारलाई सम्झिनुपर्ने त्यस्तो केही बाँकी ?
पारसः म अब सम्झेँ भनेदेखि, म त्यही सम्झन खोजिरहेको छु । त्यो यस्तो छिटो भैदेको थियो कि सबै कुरा मैले गर्न सकेको काम गरेको हो । अब सक्नेजति गरेको हो । बचाउन खोजेको हो मान्छेलाई । त्यही पनि अरु पनि बचाउन सक्थेँ कि जस्तो लाग्छ । आफूलाई अहिले, सोच्दाखेरि । जे जति गरेँ, त्यो कम भयो जस्तो लाग्छ आफूलाई ।
(राजदरबार हत्याकाण्ड सम्बन्धमा गठित उच्चस्तरीय समितिको प्रतिवेदनबाट )

