दीपेन्द्रका लागि २१ गते केटी हेर्न जाने तयारीमा थिए वीरेन्द्र…

तर १९ गते राति नै वीरेन्द्रको वंश सकियो...

काठमाडौं, २० जेठ । दरबार हत्याकाण्ड भएर तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको वंश नाश भएको शुक्रबार २२ वर्ष पूरा भएको छ ।

वि सं २०५८ जेठ १९ को राति दरबार भित्रै तत्कालीन राजा विरेन्द्र सहित रानी ऐश्वर्य उनका छोराहरू दिपेन्द्र र निराजन तथा छोरी श्रुतीको बीभत्स हत्या भयो । हत्याकाण्डको छानबिन गर्न बनेको समितिले दरबार हत्याको ‘दाग’ तत्कालीन युवराज दीपेन्द्र माथि लगाइयो ।

तर, जनताले पत्याउन सकेनन् । जसको ‘कालोधब्बा’ पुर्व राजा ज्ञानेन्द्र र उनका छोरा पारसमाथि लगाउन खोजियो । यद्यपि दरबार हत्याकाण्ड भएको राति ज्ञानेन्द्र शाह पोखरामा थिए । दरबारमा गोली चलेको र दाइ भाउजू सहित परिवारका अन्य सदस्यको हताहती भएको खबरसँगै राति ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे । उनी काठमाडौ आउँदा हत्याकाण्डमा मृत्यु भएका र घाइते सबै छाउनीस्थित सैनिक अस्पतालमा थिए।

दरबार हत्याकाण्ड कसले ? कसको योजनामा र किन गरायो भन्ने तथ्य र कारण अहिलेसम्म खुलेको छैन । रहस्यमय बनेको यो घटनामा युवराज दीपेन्द्रलाई नै दोषी देख्‍ने जमात पनि छ । प्रतिवेदन पनि त्यस्तै आयो ।

त्यतिबेला दरबार हत्याकाण्डको प्रतिवेदन सार्वजनिक गर्दा तत्कालीन सभामुख तारानाथ रानाभाटले ‘युवराज दिपेन्द्रबाट भटटट….र्‍याटाटाटा…गर्दै गोलि चलाइबक्सेको’ भनेर अभिनय सहित दिएको अभिव्यक्ति पनि निकै विवादास्पद र चर्चामा रह्यो । यद्यपि घटनाको वास्तविकता भने अझै खुलेको छैन ।

दरबार निकट व्यक्ति र दरबारका अन्य सदस्यको बयान तथा हत्याकाण्ड अगाडी भएका दिपेन्द्रका प्रेम प्रसङ्ग सहितको तथ्यले घटना युवराज दिपेन्द्रले नै ‘आवेग’मा आएर घटाएको भनिएको छ।

युवराज दीपेन्द्रको विवाहबारे दरबारमा धेरै अगाडिदेखि विवाद र झगडा चलिरहेको जानकारहरु बताउँछन् । दरबारभित्र उनको विवाहलाइ लिएर मुमा ऐश्वर्य र बहिनी श्रुतीको भिन्न मत थियो । नातेदारभित्रकै एक युवतीसँग दीपेन्द्रको हिमचिम रहेको कुरा दरबारमा कसैले रुचाएका थिएनन् । बहिनी श्रुतीले त्यो कुरामा असहमति जनाउदा दाजु-बहिनीको कुटाकुट समेत भएको थियो । बहिनी श्रुतीलाइ लात्ती हानेपछि दीपेन्द्रलाइ रानी ऐश्वर्यले समेत हिर्काएको कुरा बाहिर आएको थियो ।

आमा ऐश्वर्यकै नातेदार राणा परिवारकी ती युवतीपछि दीपेन्द्रको अस्ट्रेलियामा अर्की युवतीसँग प्रेम भएको र त्यसमा राजा हुने व्यक्तिले विदेशी युवतीसँग विवाह गर्न नहुने राजा वीरेन्द्रको तर्कपछि दिपेन्द्र पुनः बुबा आमा सँग रिसाएका थिए ।

त्यसपछि दीपेन्द्रले एकजना नेताको छोरीसँग प्रेम गरे। नेता भएपनि राणा परिवार रहेका उनका बुबाको राजा वीरेन्द्रसँग राम्रो सम्बन्ध भएपनि आमा ऐश्वर्य र हजुरआमा रत्‍न राज्यलक्ष्मीको त्यहाँ पनि सहमति भएन, जुन युवतीसँग युवराज दीपेन्द्रले हत्याकाण्ड हुनुभन्दा १ घन्टा अगाडि पटकपटक टेलिफोनमा कुरा गरेका थिए ।

हत्याकाण्डको जाँचबुझ गर्न गठित समितिले बयान लिने क्रममा ती युवतीले भनेकी छन्- ‘युवराज सरकारले मलाई तीनपटक फोन गरिबक्स्यो तर अन्तिम फोनमा म सुतें बिहान फोन गर्छु मात्रै मर्जी भयो।’

आमा ऐश्वर्यका कारण ती युवतीसंग पनि बिहे हुने अवस्था नदेखेपछि दीपेन्द्रले नै दरबार हत्याकाण्ड मच्चाएको भनिएको छ । उनले नशालु पदार्थ सेवन गरी आफुसँग भएको स्वचालित हतियारको सहायताले सबैको हत्या गरेको र आफुले अर्को पेस्तोल आफ्नै कंचटमा प्रहार गरि आत्महत्या गरेको भनिएको छ ।

तर, दरबार हत्याकाण्ड यदि जेठ १९ मा नभएको भए राजा वीरेन्द्रले त्यसको २ दिनपछि अर्थात जेठ २१ मा दीपेन्द्रको बिहेका लागि केटी हेर्ने योजना बनाएका थिए । तर, ती युवती दीपेन्द्रकै प्रेमिका थिइन् वा अरु भन्ने चाहिँ खुलेको छैन ।

‘भाइ पारस शाहसँग दीपेन्द्रले २१ गते बुवा र मुमा हजुरले बिहेको कुरा गर्न खोज्नुभएको छ’ भनेर हत्याकाण्डको अघिल्लो दिन दिपेन्द्रले सुनाएको पारस शाहको बयानमा पनि उल्लेख छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय