प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा निस्कँदै छन् । तेस्रोपटकको प्रधानमन्त्री कार्यकालमा उनी प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा भारत जान लागेका हुन् ।
पाँचजना मन्त्री पनि समावेश भ्रमण टोली दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारततर्फ प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । त्यसअघि १२ २५ मा विमानस्थलमा पत्रकार सम्मेलनको कार्यक्रम रहेको छ ।
भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललगायत छन् ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ यही जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।
यस्तो छ भ्रमण तालिका:
नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि प्रधानमन्त्री प्रचण्ड दिउँसो साढे ३ बजे सरदार पटेल मार्गमा रहेको होटल मौर्यमा पुग्ने छन् । प्रचण्डसहितका अतिथिहरुलाई भारत सरकारले होटल मौर्यमै बस्ने व्यवस्था मिलाएको छ ।
सो होटलमा साँझ ६ बजे भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले छुट्टा छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले प्रधानमन्त्री प्रचण्डसँग करिब आधा घण्टा छलफल गर्ने समय निर्धारण गरिएको छ ।
त्यसपछि भोलि (जेठ १८ गते) बिहान साढे १० बजे प्रधानमन्त्री प्रचण्ड राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा जानेछन् । त्यहाँ पुष्पहार अर्पण गरेपछि हैदरावाद हाउसमा फर्किनेछन् । हैदरावाद हाउसमा बिहान ११ बजे प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ । प्रचण्ड र मोदीबीच आधा घण्टा भेट्ने समय छुट्याइएको छ ।
त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन् । प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । सोही दिन मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
सोही दिन प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्नेछन् । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ ।
त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्तरुपमा आयोजना गरेको नेपाल-भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
यसैगरी भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि प्रधानमन्त्री प्रचण्डले भेटघाट गर्ने कार्यक्रम छ ।
नेपाल र भारतबाट सार्वजनिक गरिएको प्रधानमन्त्री प्रचण्डको भ्रमण तालिकामा भारतका विपक्षी लगायत दलका अन्य नेताहरुसँग भेट्ने कि नभेट्ने भन्ने उल्लेख छैन ।
भ्रमणको तेस्रो दिन शुक्रबार (जेठ १९ गते) प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको उज्जैन र इन्दोर भ्रमणमा जानेछन् । चौथो दिन (जेठ २० गते) शनिबार इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्ट र विशेष आर्थिक क्षेत्रको भ्रमण गरेर दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली फर्किने छन् ।
सोही दिन नयाँदिल्लीबाट नेपाल एयरलाइन्सको अपराह्न ४ः२० को उडानबाट उनी काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ ।

