‘अखण्ड भारत’मा लुम्बिनी र कपिलवस्तु राखिएकोमा बाबुरामको आपत्ति

काठमाडौं, १६ जेठ । भारतमा भर्खरै उद्घाटन गरिएको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को भित्तेचित्रमा नेपालको लुम्बिनी र कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्र समेटिएको देखिएको छ।
उक्त भित्तेचित्रमा छिमेकी मुलुकको भूभागलाई पनि समेटिएको भन्दै पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् ।
मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले ‘अखंड भारत’ को विवादास्पद भित्तिचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानीकारक कूटनीतिक विवाद निम्त्याउन सक्ने बताएका छन्।
यसले भारतका निकटतम् छिमेकीहरू बीचको बिग्रँदो द्विपक्षीय सम्बन्धलाई थप हानी गर्ने उनले बताएका छन्।
नेपाल र भारतका प्रधानमन्त्रीलाई मेन्सन गर्दै उनले भनेका छन्, ‘भारतीय राजनीतिक नेतृत्वले यस भित्तिचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर स्पष्ट पार्नु बुद्धिमानी हुन्छ।’

