रेशम चौधरी छुटेकोमा रवि लामिछानेको विरोध

काठमाडौं, १५ जेठ । टिकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैद भुक्तान गरिरहेका रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिन लगाएर छुटाएको भन्दै रवि लामिछने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध गरेको छ ।

रेशम चौधरीलाई कैदबाट मुक्त गराउन सरकार नै योजनाबद्ध रूपमा लागिपरेको रास्वपाको आरोप छ । गणतन्त्र दिवसको अवसर पारेर (सोमबार) चौधरीसहितका कैदीलाई छुटाउन राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिइसकेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति कार्यालयले टीकापुर घटनामा जेल जीवन बिताइरहेकाहरुको माफी मिनाहा गरेको हो । विज्ञप्ति जारी गर्दै रास्वपाले भनेको छ, ‘सरकारको यो कदम पुर्वाग्रही तथा आममाफीको मर्म विपरीत मात्र नभई पीडितका सन्दर्भमा अन्यायपूर्ण समेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ।’

साथै, गणतन्त्र दिवसको दिन चौधरीलाई छुटाउन नियोजि रुपमा नै सरकार लाग्नु विधि सम्मत नभएको पनि रास्वपाले जनाएको छ ।

यस्तो छ विज्ञप्तिको अंश: ‘आममाफीको व्यवस्था भनेको कैद भुक्तानी गरिरहेका व्यक्तिको चालचलन तथा अन्य मानवीय अवस्थालाई विचार गरी निजलाई सत्मार्गमा अगाडि बढ्न दिइने एक अवसर हो । तर सरकारको कदम मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ तथा सजाय माफी, मुल्तजी तथा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१ को समेत विपरित रहेको छ ।

कुनै पनि राजनीतिक अभियानका क्रममा कुनै पनि समुदायका निर्दोष नागरिकहरु पीडित हुनुहुँदैन । नागरिकका हक अधिकार प्राप्तिका लागि गरेका कुनै पनि आन्दोलनप्रति हाम्रो विमत्ति छैन तर राजनीतिक आन्दोलनको आवरणमा हुने जघन्य अपराध क्षम्य हुन सक्दैन । सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयकको संशोधन प्रस्ताव राख्ने क्रममा पार्टीले सशस्त्र द्वन्द्वका क्रममा भएका जघन्य अपराधका अपराधीलाई छुट हुनु हुँदैन भन्ने कुरा उठाएको थियो । कुनै पनि अपराधको निरुपण निष्पक्ष न्यायिक प्रक्रियाबाट हुनुपर्छ । यस्तोमा कुनै पनि राजनीतिक हस्तक्षेप स्वीकार्य हुँदैन ।

टीकापुर घटनाको छानविन गर्न सरकारद्वारा गठित लाल आयोगको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्नुपर्छ । जघन्य अपराधमा अपराधी ठहर भएका व्यक्तिलाई आममाफी दिने कानुनी व्यवस्थाको मर्म विपरीत हुने गरी उन्मुक्ति दिने कार्य गम्भीर मानवअधिकारको उल्लंघन समेत हो । तसर्थ निजलाई आममाफी दिनु विधि र विद्यमान कानुनी व्यवस्था अनुकुल नरहेकाले सरकारलाई सचेत गराउन चाहन्छौं ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय