देशमा फेरि पुनः द्वन्द्व चर्काएर फाइदा लिन खोजियो-प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा फेरि द्वन्द्व चर्काएर फाइदा लिन चाहने तत्वहरु सलबलाइरहेको बताएका छन्।
१० बर्षे जनयुद्धमा माओवादी सुप्रीमो समेत रहेका प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायको विषयलाई टुंगोमा पुग्न नदिँदै पुनः द्वन्द्व चर्काउन खोजिएको आरोप लगाएका हुन् ।
राष्ट्रिय मानव अधिकार आयोगको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले बिस्तृत शान्ति प्रक्रिया र त्यसबाट प्राप्त उपलब्धिलाई उल्ट्याउन चाहने शक्ति र व्यक्तिहरुबाटै संक्रमणकालीन न्यायलाई अवरुद्ध पार्न खोजिएको आरोप समेत लगाए।‘दश वर्षे जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बलमा मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव भएको हो’ उनले भने–‘०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताबाट देशले शान्तिप्रक्रियामा पाइला चालेको र शान्ति सम्झौतामा उल्लेखित संविधानसभावाट संविधान निर्माण भएको हो।’
उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी रहेका विषय चाँडै टुंगोमा पुर्याउन राजनीतिक तहमा समझदारी भएको समेत बताए।‘शान्ति प्रक्रिया र यसमार्फत् प्राप्त उपलब्धि उल्ट्याउन चाहने शक्ति र व्यक्ति अहिले पनि सक्रमणकालीन न्यायलाई अवरुद्ध गर्ने कोशिस गरिरहेका छन्’ उनले भने–‘यो विषय टुङ्गोमा नपुग्दै पुनः द्वन्द्वलाई चर्काएर फाइदा लिन चाहने तत्वहरु बेलाबेलामा सल्बलाउने गरेका छन्।’

